अखिलको अध्यक्षमा कडरिया र महासचिवमा धामीको नाम प्रस्ताव, हलमा नाराबाजी

काठमाडौं । सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुजन कडरियाको नाम प्रस्ताव गरिएपछि असन्तुष्टहरुले नाराबाजी गरेका छन्। कीर्तिपुरमा जारी २४ औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दावी गरेका छन् । तर एमाले अध्यक्ष एवं प्रधानमन्त्रीको समर्थन कडरियालाई हुँदा अध्यक्ष मण्डलबाट उनकै नाम प्रस्ताव गरिएको छ।
अध्यक्ष मण्डलले प्रस्ताव गरेको नामप्रति अरु आकांक्षीले सहमति जनाएका छैनन् । अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले आकांक्षा राखेका छन्। आकांक्षीहरुबीच सहमतिको प्रयास सफल नभएपछि अध्यक्ष मण्डलले हलमा नाम प्रस्ताव गरेका थिए।प्रस्ताव अनुसार कडरिया अध्यक्ष, प्रकाश पौडेल र अञ्जना सिवाकोटी उपाध्यक्ष र दीपक धामीलाई महासचिव प्रस्ताव गरिएको छ। असन्तुष्टहरूले निर्वाचनमा जानुपर्छ भनिरहेको भए पनि अध्यक्ष मण्डलले भने सहमतिको प्रयास भइरहेको बताएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि अध्यक्ष मण्डल र अखिलका शीर्ष नेतालाई बालुवाटारमै बोलाएर सहमतिमा टुंग्याउन निर्देशन दिएका थिए।