सिरिजंघामा सार्वजनिक सुनुवाई
ताप्लेजुङ । पालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्य सहित ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ ।
नेपाल पत्रकार महासंघ ताप्लेजुङको सहजीकरणमा गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय जनता तथा सेवाग्राहीले उठाएका सवाल तथा प्रश्नको गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष डा। चित्रकुमार माबो लिम्बू, प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बे लगायतले जवाफ दिनुभएको छ ।
कार्यक्रमका सहभागीले भने गाउँपालिकाले प्रवाह गरेको सेवा तथा याकलापमाथि सवालै सवाल उठाएका छन् । गाउँपालिका तथा वडाले बनाएको योजनाहरु चाहेजस्तो कार्यान्वयन नभएको, कार्यान्वयन भए पनि प्रभावकारी नदेखिएको, कतिपय आवश्यक कार्यक्रम तथा योजना कार्यान्वयन नगरी परिवर्तन र रकमान्तर गरिएको जस्ता १५ जना भन्दा बढीले स्थानीय जनताले प्रश्न उठाएका थिए ।
स्थानीय जनता तथा सेवाग्राहीले उठाएका सबैखाले सवाल तथा जिज्ञासाको गाउँपालिकाका पदाधिकारीसहित सेवा प्रदायक पक्षबाट सहजरुपमा जवाफ र समाधान दिने प्रयत्न गरिएको छ ।कतिपय विषयमा सेवाग्राहीले उठाएका सवाल अनुसार सुधार गरेर लैजाने पनि गाउँपालिकाले प्रतिवद्धता जनाएको छ ।
सार्वजनिक सुनुवाइमा शिक्षक, अन्य कर्मचारी लगायतका स्थानीय सेवाग्राहीको सहभागिता रहेको थियो ।





















