प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव शुरु
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव सुरु भएको छ । विहिवार कोशी प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्व मन्त्री तिलकुमार मेन्याङ्वोले महोत्सवको उद्घाटन गर्नुभएको हो ।
‘सांस्कृतिक मौलिकताको जगेर्ना, खेलकुदको विकाससँगै ग्रामीण पर्यटनको प्रवर्द्धनमा सिदिङ्वाको हातेमालो’ भन्ने नारासहित सुरु गरिएको महोत्सवमा याक तथा चौँरी प्रवर्द्धन कार्यक्रम अन्तरगत चौँरी प्रदर्शनी, चौँरीजन्य उत्पादन घिउ र छुर्पी, स्थानीय अल्लोको कपडाका स्टलहरू राखिएका छन् ।
यस्तै आगामी १७ गतेसम्म चल्ने महोत्सवका कार्यक्रम अन्तरगत सिदिङ्वा धाम दर्शन तथा मूर्तिको प्राण प्रतिष्ठा कार्यक्रम समेत राखिएको छ । महोत्सवमा पुरुष तथा महिला म्याराथन हुँदै छ । म्याराथन प्रतियोगिता भने आगामी १७ गते हुने छ । म्याराथनका विजेतालाई समान पुरस्कार प्रदान गरिने गाउँपालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार म्याराथनका विजेता महिला पुरुषतर्फ नै प्रथमलाई ४०–४० हजार रुपियाँ, दोस्रोलाई ३०–३० र तेस्रोलाई २०–२० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने छ । सिदिङ्वा गाउँपालिकाबाट म्याराथनमा सहभागी भई प्रथम हुनेलाई २५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने छ ।
सिदिङ्वा धामसहित गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्य ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, काली पोखरी, हात्ती ढुङ्गा लगायतका स्थलको थप प्रचारप्रसार साथै प्रवर्द्धन गर्न पनि महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ ।
भारतको सिक्किमसँगको सिमाना नजिक पर्ने अन्तर्राष्ट्रिय जैविक मार्गका रुपमा रहेको धार्मिक पर्यटकीय क्षेत्र सिदिङ्वाधामलाई कञ्चनजङ्घा पदयात्राको मुख्य प्रवेश विन्दुको रुपमा पनि लिने गरिएको छ ।





















