एमाले युवा संघ नेतृत्व छान्न मतदान जारी, थेबे र पुरी प्यानलबीच प्रतिस्पर्धा
पोखरा ।सत्तारूढ नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व चुन्न मतदान सुरू भएको छ।पोखरा सभागृहमा जारी दसौं महाधिवेशनमा सहमतिबाट नेतृत्व चुन्न प्रयास असफल भएपछि मतदान सुरू गरेको युवा संघ-इन्चार्ज राजीव पहारीले जानकारी दिए। उनका अनुसार ४२ वटा भोटिङ मेसिनमा ९ वटा बुथ बनाएर मतदान थालिएको हो।
महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चुन्न निर्देशन दिएका थिए। ओलीको निर्देशन अनुसार सर्वसम्मत नेतृत्व चुन्न उम्मेदवारहरू तयार नभएपछि मतदानबाट नेतृत्व टुंगो लगाउन लागिएको हो।
‘युवा संघको नयाँ नेतृत्व सर्वसम्मत ढंगले छान्न अधिकतम पहल र प्रयत्न गर्यौं। त्यो सम्भावना टरेपछि मतदान थालेका छौं,’ पहारीले भने, ‘एकदम स्वच्छ ढंगले मतदान भइरहेको छ।’महाधिवेशनमा युवा संघको अध्यक्षका लागि क्षितिज थेबे र सुमन पुरीले उम्मेदवारी दिएका थिए। उनीहरूले पदाधिकारी र केन्द्रीय समिति सदस्यका लागि पनि प्यानल बनाएका छन्।अध्यक्षका दावेदार थेबे यसअघि महासचिव हुँदै संघको नवौं महाधिवेसनबाट अध्यक्ष चुनिएका थिए भने पुरी उपाध्यक्ष, महासचिव हुँदै अहिले अध्यक्षको उम्मेदवार बनेका हुन्।
अध्यक्षका उम्मेदवार थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरुङ र विनय शाही, महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी, देवु बस्नेत, महिला सचिवमा निशा लिम्बु र मधेशी सचिवमा मोबिन आलमले उम्मेदवार छन्।
अध्यक्षकै अर्का दाबेदार पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेशी सचिवमा चितरञ्जन यादव उम्मेदवार बनेका छन्।युवा संघ नेपालको १५१ सदस्य केन्द्रीय समितिमा ४ सय जना बढीले उम्मेदवारी पेस गरेको संघका इन्चार्ज पहारीले जानकारी दिए। युवा संघको महाधिवेशनमा देशका सबै पालिका, जिल्ला, प्रदेश र केन्द्रीय समिति गरी १ हजार ९३९ जना प्रतिनिधि सहभागी छन्।



















