अब ग्वार्कोमा जाम हुने छैन ! नेपाल बन्दै छ

ग्वार्को फ्लाई ओभर निर्माण अन्तिम चरणमा
वेलकम खबर
जेष्ठ ११, २०८२

काठमाडौ । ग्वार्को भन्ने बित्तिक्कै जाम चोक भनेर चिनिन्थ्यो। इमाडोल-सातदोबाटो र कोटेश्वरबाट आउने सवारीको जम्काभेटले लामो समय जाम रहने गरेको छ। ललितपुरको ग्वार्कोमा निर्माणाधीन ग्वार्को फ्लाई ओभर (ओभर पास) निर्माण अन्तिम चरणमा पुगेसँगै जाम हट्ने आशा पलाएको छ। नेपालमै पहिलो पटक निर्माण गरिएको ग्वार्को फ्लाई ओभर (ओभर पास) गाडी गुडाउन तयार हुँदैछ। यही महिनाभित्र ओभर पासको सबै काम पूरा गरी ठेकेदार कम्पनीले सडक विभागलाई हस्तान्तरण गर्ने तयारी गरेको छ।

विभाग मातहतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीका अनुसार ठेकेदार कम्पनीले ठूलो वर्षा भई काम गर्न अवरोध भएन भने यही जेठ मसान्तभित्र ओभर पासको सबै काम पूरा गरी विभागलाई हस्तान्तरण गर्ने बताएको छ। ‘ओभर पास हस्तान्तरण हुने वित्तिकै हामी बैठक गरेर एउटा टुंगोमा पुग्नेछौं र तत्काल गाडी गुडाउन सुरु गर्छौं’, बाराहीले भने, ‘अहिले निर्माणको काम तीब्र गतिमा भइरहेको हामीले पाएका छौं।’

उनका अनुसार ओभर पास निर्माणको काम ८५ प्रतिशत नाघिसकेको छ। ठेकेदार कम्पनीले कोटेश्वरतर्फको बाटो पिच गरीसकेको छ भने अर्को हप्ता सातदोबाटोतर्फ पनि पिच गर्ने भएको छ। अहिले त्यसकै तयारी गरीरहेको कम्पनीको भनाइ छ।

निर्देशक बाराहीका अनुसार अहिले ठेकेदार कम्पनी आशिष समानन्तर रेलिगेट कम्पनीले ओभर पासमा गाडी गुड्न तयार बनाउन ट्राफिक लाइट, पेन्टिङ, रोड मार्किङ, तथा पानीको निकास लगायतका अन्तिम काम गरिरहेको छ।

गत पुस ९ गतेदेखि उक्त कम्पनीले दैनिक ८५ हजार रूपैयाँ हर्जना तिरेर काम गरिरहेको छ। गत पुस  ८ गतेसम्म काम पूरा गर्न उक्त कम्पनीलाई अन्तिम म्याद दिइएको थियो। अन्तिम म्यादसम्म पनि काम सम्पन्न नगरेपछि दैनिक ०.०५ प्रतिशतको दरले उक्त कम्पनीले हर्जना तिरिरहेको छ। त्यसले तिर्ने हर्जना दुई सय दिनसम्म हुनेछ।

दुई सय दिनभित्रै काम सम्पन्न गर्नैपर्छ। त्यसपछि पनि काम नभए सम्झौता रद्द गर्ने कानुनमा व्यवस्था छ। दुई सय दिनको अवधिमा ठेकेदार कम्पनीले १० प्रतिशतसम्म हर्जना तिरिसक्नु पर्नेछ। दैनिक हर्जना तिर्न थालेपछि ठेकेदार कम्पनीले काम दु्रत गतिमा अघि बढाएको आयोजनाका कर्मचारीको बुझाइ छ।

विभागले ठेकेदार कम्पनीलाई दैनिक ८५ हजार हर्जाना लगाइरहेको बेला सरकारले सार्वजनिक खरिद नियमावलीको १४ औं संशोधन गरी निर्माण काम पूरा नभएका आयोजनाहरूलाई म्याद थप गर्ने बाटो खुला गरेको छ।

तेह्रौ संशोधनमा आयोजनाको म्याद अन्तिम एक पटकको लागि थप गर्दै सो म्यादभित्र पनि काम पूरा नभए दैनिक हर्जाना लगाएर दुई सय दिन काम गर्न दिने व्यवस्था गरिएको थियो। १४औ संशोधनपछि भने ठेकेदार कम्पनीले म्याद थपको लागि निवेदन नदिएको बाराहीले बताए। ‘१४ औं संशोधनपछि म्याद थपको लागि ठेकेदार कम्पनीले निवेदन दिएको छैन, दैनिक हर्जानामै काम गरिरहेको छ’ बाराहीले भने।

ग्वार्को ओभर पास बनाउन २०७८ फागुन १२ गते ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो। १७ करोड ६ लाख ८८ हजार रूपैयाँमा यसको ठेक्का सम्झौता गरिएको थियो। सुरुमा ठेक्का सम्झौता हुँदा २०८० साल फागुन ११ गतेभित्र काम सम्पन्न गर्ने गरी म्याद तोकिएको थियो।

विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले समयमा काम गर्न सकेन। त्यसपछि यस आयोजनाको म्याद थप गरियो। दोस्रो पटक म्याद थप गरी २०८१ पुस ८ गते काम सक्ने अन्तिम म्याद तोकियो। दोस्रो पटक पनि थप गरिएको म्यादमा पनि काम हुन सकेन। दोस्रो पटक थपिएको म्याद अन्तिम पटकका लागि थियो। त्यसैले दोस्रो पटक थपिएको म्यादभित्र पनि काम हुन नसकेपछि ठेकेदार कम्पनीले दैनिक हर्जाना तिरेर काम गरिरहेको छ।

काम भइरहेको बेला सातोदोबाटोतर्फ जगबाटै प्यानल वाल भत्काएर पुनः काम गर्नुपरेको थियो । करिब ४० मिटर जति ठाउँमा प्यानल वाल भत्काउनु परेको आयोजनाको भनाइ छ। आयोजनाका अनुसार प्यानल इन्टरलिंक हुँदा बिग्रिएको पर्खाल पूरै भत्काउनु परेको थियो।

ठेकेदार कम्पनीले प्यानल वाल भत्काउँदा पहिले राखेको माटो हटाएर त्यस ठाउँमा पुन माटो भरेको थियो। गुणस्तर केन्द्रका इन्जिनियरहरूले सातदोबाटोतर्फ प्यानल वालमा ग्याप देखेपछि ४० मिटर दूरीमा प्यानल वाल भत्काउन लगाएका थिए। ‘यो हाम्रा लागि नयाँ प्रयोग थियो। त्यसैले काम गर्दै जाँदा केही त्रुटि आउन सक्छ। हामीले त्रुटि पूरै सच्याइसकेका छौं,’ निर्देशक बाराहीले भने, ‘हामीले सुरुदेखि नै ग्वार्को ओभर पासको निरन्तर निगरानी र अनुगमन गरिरहेका छौं।’

ओभर पासको कोटेश्वरतर्फ तीन सय २० मिटर तथा सातदोबाटोतर्फ भने एक सय ८० मिटर बाटोमा प्यानल जडान भइसकेको छ। यस ओभर पासमा ३५ मिटर लामो चार लेनको पुल निर्माण भइसकेको छ।-nagariknews

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*