सिदिङ्वा धाम पर्यटन महोत्सव हुने

वेलकम खबर
जेष्ठ ३, २०८२

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा धामको प्रचार प्रसार गर्ने उद्देश्यले आँउदो जेठ १५ गते देखि प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव २०८२ आयोजना हुने भएको छ ।
सिदिङ्वा गाउँपालिकाले शुत्रवार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो । समुद्र सतहदेखि तीन हजार ५१५ मिटर उचाइ रहेको जैविक विविधताले भरिपूर्ण पर्यटकीयस्थल सिदिङ्वाधाम क्षेत्रको प्रचारप्रसार र प्रवर्धन गर्ने उद्देश्यसहित पर्यटन महोसव गर्न लागिएको हो । गाउँपालिकाको आयोजनामा यही जेठ १५, १६ र १७ गते तीन दिने महोत्सव हुने भएको हो ।

सिदिङ्वा धामसहित गाउँपालिकाभित्र रहेको पर्यटकीय गन्तव्यहरु ढढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, काली पोखरी, हात्ती ढुङ्गा लगायतका स्थलको थप प्रचारप्रसार साथै प्रवर्धन गर्न पनि महोत्सव आयोजना गर्न लागिएको हो । जैविक विविधताको संरक्षण, ग्रामीण, अन्तर्राष्ट्रिय पर्यटनको विकास र साँस्कृतिक सम्पदाको प्रवर्धनमा समेत टेवा पुग्ने अपेक्षा राखेर महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
अन्तर्राष्ट्रिय जैविक मार्गका रुपमा रहेको धार्मिक पर्यटकीय क्षेत्र सिदिङ्वा धाममा महोत्सव आयोजना गर्नाले पूर्वी नेपालको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा राखिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो । पर्यटन महोत्सवले गाउँपालिकाको आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास राखिएको पनि अध्यक्ष राईको भनाइ छ ।
सिदिङ्वा धाम क्षेत्र कञ्चनजंघा पदयात्राको मुख्य प्रवेश मार्गका रुपमा रहेपनि आवश्यक प्रचारप्रसारका अभावमा पर्यटन दृष्टिले सोचेजस्तो उपलब्धी नभइरहेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताउनुभयो । उपाध्यक्ष कडरियाका अनुसार पर्यटन महोत्सवले यस क्षेत्रको पर्यटकीय स्थलहरुको प्रचारप्रसार हुने र पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

तीन दिने पर्यटन महोत्सवमा सिदिङ्वाधाम दर्शन यात्रा, खेलकुद गतिविधि, स्थानीय उत्पादनको प्रदर्शन, साँस्कृतिक प्रस्तुति लगायका गतिविधि हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत विकका अनुसार खेलकुदमा वडास्तरीय भलिबल प्रतियोगिता हुने छ । भलिबलका विजेताले ५० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेताले ३० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।
यस्तै हाफ म्याराथन पनि आयोजना हुने र म्याराथनमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपियाँ नगद पुरस्कार पाउने पनि गाउँपालिकाले जनाएको छ । यस्तै साँस्कृतिक प्रस्तुतितर्फ नौमति बाजा, च्याब्रुङ नाच (केःलाङ)सहित स्थानीय समुदायमा आधारित संस्कार संस्कृतिको प्रदर्शन हुने छ ।
यसैगरी याक, चौरी, भेडापालन साथै स्थानीय हस्तकला सामग्रीसमेत प्रदर्शनीमा राखिने गाउँपालिकाले जनाएको छ । यता महोत्सव सम्पन्न गर्नका लागि ३७ लाख ९० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको गाउँपालिका आर्थिक प्रशासन शाखा लेखापाल भूपेन्द्र बुढाक्षेत्रीले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा वडाध्यक्षसहितका जनप्रतिनिधि, कार्यालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु