एसईईमा सर्वोत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई फुङ्लिङले दियो ल्यापटप

ताप्लेजुङ । एसईई परिक्षामा सर्वोत्कृष्ठ नतिजा ल्याउने एक छात्र र एक छात्रालाई ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले ल्यापटप सहित सम्मान गरेको छ ।
बुधबार सम्मानित हुनेमा भानु जन माध्यमिक विद्यालयका प्रतिमा पुरी र राजिव रनपाल नेपाली रहनु भएको छ । २०८० सालको एसईई परिक्षामा सामुदायिक विद्यालय तर्फ पुरीले ३।६७ र नेपालीले ३।६१ जिपीए प्राप्त गरेका थिए । उनीहरुलाई फुङ्लिङ नगरपालिकाका नगरप्रमुख अमीर मादेन, नगरउपप्रमुख भीमादेवी ओझा र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद गौतमले प्रमाणपत्र र ल्यापटप प्रदान गर्नु भएको हो ।
सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख मादेनले विद्यार्थीहरुमा सकारात्मक उत्प्रेरणा जगाउने उद्देश्यले आफ्नो कार्यकालमा यो कार्यक्रम सुरु गरेको बताउनुभयो । उहाँले पुरस्कृत हुने विद्यार्थीका अभिभावक र विद्यालय श्री भानुजन माध्यमिक विद्यालयलाई समेत बधाई तथा धन्यवाद दिनुभयो । नगरपालिकाले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत मात्रै नगरेर एमविविएस, कृषी, आईटी तथा हाईड्रोईन्जिनियरीङ लगायतका प्राविधक शिक्षाका लागि छात्रवृत्ति प्रदान गरिरहेका मादेनको भनाई छ ।
सम्मान कार्यक्रममा भानु जन माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर कुमार राई, नगर शिक्षा समितिका सदस्यहरु, शिक्षा अधिकृत प्रकाश पौडेल, प्रसाशकिय अधिकृत प्रकाश तामाङ लगायतको उपस्थिति रहेको थियो ।