गाडीमा आगजनी भएर चार जनाको ज्यान गएको घटनाबारे छानबिन गर्न समिति गठन

वेलकम खबर
बैशाख १२, २०८२

ताप्लेजुङ । ताप्लेजुङ विद्युतिय तारमा अल्झिएर गाडीमा आगजनी हुँदा चार जनाको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा पाथिभरा मन्दिर दर्शनका लागि जाँदै बोलेरो जिपमा आगजनी हुँदा एकै परिवारका तीन सहित चार जनाको मृत्यु भएको थियो ।
आगजनीमा गम्भीर घाइते एक महिलाको काठमाडौंमा उपचार भइरहेको छ । मन्त्री दीपक खड्काको निर्देशनमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले छानविनका लागि चार सदस्यीय समिति गठन गरेको हो ।
नेपाल विद्युत्त विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा गठित समितिमामन्त्रालयका दुईजना प्रतिनिधि र पुल्चोक इन्जिनियरिङ क्याम्पसका एकजना प्रतिनिधि सदस्य रहने मन्त्री खड्काको सचिवालयले जनाएको छ । समितिलाई दुर्घटना हुनुको कारणबारे अध्ययन गरी प्रतिवेदन तयार गर्न भनिएको छ । साथै आगामी दिनमा यसप्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपायहरू सुझावस्वरूप पेश गर्न निर्देशन दिइएको छ । समितिले शुक्रबारबाटै आफ्नो काम सुरु गरेको छ ।
गत सोमबार बिहान पाथिभराको दर्शनका लागि जाँदै गरेको ना१ज ३०११ नम्बरको जिपमा विद्युतीय तारले छुँदा आगलागी भएको थियो । आगजनीमा चालकसहित सवार चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु