पाथीभरा ‘भाकल’ चढाउन जाँदा बाटोमा एकैछिन ढिलो भएको भए, सायद….

पार्थ मण्डल
बैशाख १०, २०८२

झापा । डा.सविना पौडेल (आचार्य) १६ वर्षीया छोरी आध्या र ९ वर्षीय छोरा भबिमय लिएर बिहीबार साँझ झापा भद्रपुर माइतीघर आएकी थिइन् । ललितपुर महानगरपालिका–१० निवासी ४५ वर्षीया पौडेल पाथीभरा मातासँग गरेकी ‘भाकल’ चढाउन त्यहाँ पुगेकी थिइन् ।

पेसाले डेन्टल सर्जन रहेकी सविनाको आमाबुबा भद्रपुर नगरपालिका–८ अस्पतालचोक नजिकै बस्थे । सविनाको एक भाइ छन् । भाइ सविप अस्ट्रेलियामा बस्छन् । श्रीमान् न्युरो सर्जन हुन् । हजुरबुबा पूर्वन्यायाधीश नन्दकिशोर पौडेल हुन् । उनीहरूको परिवार पनि भद्रपुरमै बस्छन् ।

सविनाले माइतीघरमा दुई दिन हासीखुसी बिताएर ७० वर्षीय बुबा विनोद, ६९ वर्षीया आमा सरिता र छोराछोरीलाई लिएर आइतबार बिहान ८ बजे पाथीभरा दर्शनका लागि स्कारपियो गाडी रिजर्भ गरी ताप्लेजुङ हिँडेकी थिइन् । उनीहरूलाई गाडी साहु भद्रपुर–७ निवासी विकास कोइरालाले लगेका थिए ।

बाटोमा पुग्दा एउटा जिपमा दनदनी आगो बलिरहेको देख्यौं, आँखै अगाडि मान्छे जल्दा पनि केही गर्न सकेनौं,’ प्रत्यक्षदर्शी भट्टराईले भने, ‘घटना घटेको १० मिनेट भइसकेको थियो ।’

‘हामीहरू त्यही दिन बेलुका ७ बजे ताप्लेजुङको सदरमुकाम फुङलिङ पुग्यौं । उहाँहरूलाई पेरिस होटलमा छाडेर म अर्को होटलमा गएर बसेँ,’ गाडी साहु कोइरालाले भने, ‘उहाँहरूले अनलाइनमार्फत होटल बुकिङ गर्नुभएको रहेछ, मलाई पनि त्यही होटलमा बस्नु भन्दै हुनुन्थ्यो, तर म सधैं बस्ने होटलमा गएर बस्छु भनेर त्यहाँबाट छुट्टिए । उहाँहरूले मेरै गाडी लिएर माथिल्लो फेदीसम्म जान्छु भन्दै हुनुन्थ्यो । मेरो गाडीमा फोरह्वीलर छैन । माथि बाटो बनाउँदै छ । पानी पनि परिरहेकाले ठाउँ–ठाउँमा खाल्डाखुल्डीमा टुह्वीलर गाडी फस्छ । तपाईँहरू यतैको गाडीमा जानुहोस् भनेर सम्झाएँ ।’

पछि सविनाका बुबा विनोदले ठीकै छ त हामी अर्को गाडीमा जाउँला भनेका उनले सुनाए । ‘तिमी यहाँ एक्लै बसेर के गर्छौं ? हामीसँगै दर्शन गर्न हिँड पनि भन्नुभएको थियो,’ कोइरालाले थप्दै भने, ‘म माथि चढेर तल झर्दा खुट्टा काम्छ, कामेको खुट्टाले गाडी चलाएर झापा जान सक्दिनँ, पहिला पनि त्यस्तो समस्या भएको थियो भनेर मनाएर उहाँहरूलाई पठाइयो ।’

पेरिस होटलका साहुले राति नै गाडी बुकिङ गरिदिएका थिए । गाडी बिहानको ३ बजे होटल आइपुगेको थियो । उनीहरू साढे ३ बजे मे १ ज ३०११ नम्बरको जिप चढेर पाथीभरा दर्शनका लागि होटलबाट हिँडेका थिए । फुङलिङबाट हिँडेको एक घण्टा नबित्दै उक्त गाडी दुर्घटनामा प¥यो । पाथीभरा क्षेत्रको सेवारो चोकमा सोमबार बिहान ४.१५ बजेतिर सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जिपमा
आगलागी भयो ।

जिप चालक फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई, यात्रुहरू विनोद, उनकी श्रीमती सरिता र नातिनी आध्याको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । दुर्घटनामा परी सविना र उनका छोरा भबिमय घाइते भएका छन् । भबिमयको अवस्था सामान्य छ भने सविनाको ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको जनाइएको छ ।

‘घटना घटेको १५ मिनेटमै उहाँहरू दुर्घटनामा परेको जानकारी आयो,’ गाडी साहु कोइरालाले भने, ‘बाबु (भबिमय) ले अर्को गाडीका यात्रुको मोबाइल फोनबाट आफ्ना बुबालाई घटनाका बारेमा जानकारी गराए ।’ भबिमयको बुबाले तत्काल कोइरालाको नम्बरमा फोन गरेर घटनाको बारेमा बुझ्न लगाए । अनि मात्र घटनाका बारेमा आफूलाई थाहा भएको उनले बताए । ‘म घटनास्थल पुगिन, घाइते आमा छोराको उपचारतर्फ लागे,’ उनले भने ।

आँखै अगाडि मान्छे जल्दा पनि केही गर्न सकिएन : प्रत्यक्षदर्शी 
चितवन जिल्ला भरतपुर–४ निवासी नवीन भट्टराईसहित ६ जनाको टोली पनि पाथीभरा दर्शनका लागि आइतबार राति फुङलिङ बजार पुगेका थिए । उनीहरू पनि पेरिस होटलमै बसे । होटल साहुले बिहानै दुईवटा गाडी (जिप) बोलाइदिए । केही ढिला भएपछि पहिलो जिप यात्रुहरू बोकेर होटलबाट निस्कियो । ‘त्यसको आधा घण्टापछि हामी पनि निस्कियौं । बाटोमा पुग्दा एउटा जिपमा दनदनी आगो बलिरहेको देख्यौं, आँखै अगाडि मान्छे जल्दा पनि केही गर्न सकेनौं,’ प्रत्यक्षदर्शी भट्टराईले भने, ‘घटना घटेको १० मिनेट भइसकेको थियो ।’

भट्टराईका अनुसार एक जना बाबु चिच्याउँदै कराउँदै, आत्तिँदै हामीतिर आयो । ती बाबु हुन् सविनाका छोरा भबिमय । ड्राइभरले पछाडिको ढोका खोलिदिँदा बाबु बाहिर निस्कन पाए । तर, ड्राइभर ढोका खोल्न जाँदा करेन्ट लागेर उछिट्टिएर भुइँमा ढले । ‘घाइते दिदी (सविना) पनि त्यही ढोकाबाट बाहिर निस्किनुभयो । बाबुले अरूलाई बचाउन नसके पनि आफ्नो आमालाई बचाउन गाडीभन्दा एक फिट टाढा तानेर भुइँमै छाडिदियो । यी सब घटना हामी पुग्नुभन्दा पहिला घटिसकेको रहेछ’, उनी स्मरण गर्छन्, ‘बाबुले हामीसँग गुहार माग्न आएपछि तत्काल प्राधिकरणलाई फोन गरेर लाइन काट्न लगायौं, प्रहरीलाई पनि फोन ग¥यौं । लाइन काटेपछि मात्र हामी त्यहाँ उद्धारका लागि जान सक्यौं । नत्र त्यहाँ जाने अवस्था नै थिएन ।’

हाइटेन्सनको तारले करेन्ट लागेको अवस्था थियो । करेन्टको तारमा निलो रंगको झिल्काहरू प्रस्ट देखिँदै थियो । ‘त्यो अवस्थामा त्यहाँ पुग्नु भनेको हामी पनि मर्नु हो, उद्धार गर्ने त अवस्था नै थिएन’, भट्टराईले थपे, ‘लाइन काटेपछि मात्र दिदी (सविना)लाई त्यहाँबाट उद्धार गरी हाम्रो गाडीको चालक जर्नादन भण्डारीले अर्को गाडीको सहयोगमा जिल्ला अस्पताल उपचारका लागि पठाए ।’

घटना घटेको जिपभन्दा अगाडि पनि दुईवटा गाडी माथितिर गइसकेको थियो ।त्यस ठाउँमा पानी जमेको खाल्डो थियो । खाल्डोबाट गाडी लगेको भए दुर्घटना हुने थिएन । तर, चालकले डाँडापट्टिबाट गाडी लैजान खोज्दा झुन्डिरहेको एउटा हाइटेन्सनको तार गाडीको हुटमा छुँदा दुर्घटना भएको उनले बताए ।

शोकमा वडावासी 
भद्रपुर–८ का पौडेल दम्पती र उनीहरूको नातिनीको जिप दुर्घटना परी एकै साथ मृत्यु भएको घटनाले वडावासी शोकमा डुबेका छन् । जिल्ला अस्पताल ताप्लेजुङमा पोस्टमार्टम गरी तीन जनाको शव विनोदका भाइ महेश पौडेलले सोमबार नै बुझेर ल्याए । मृतक विनोदका छोरा सविप अस्ट्रेलियाबाट मंगलबार आइपुगेका थिए । भद्रपुर–७ स्थित देउनियाँ नदीमा तीनै जनाको सामूहिक दाहसंस्कार गरिएको छ । सविनाको काठमाडौंमा उपचार भइरहेकाले आध्यासहित तीनै जनाको भद्रपुरमै दाहसंस्कार गरिएको विनोदका भाइ महेशले जानकारी दिए ।-यो समाचार टाइम्स अफ प्रदेशवाट साभार गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*