पाथीभरा क्षेत्रमा ढकमक्क फुल्यो लालीगुराँस, तीर्थयात्रीहरु रमाउदै सेल्फी हान्दै (फोटो फिचर)
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरा क्षेत्रमा अहिले ढकमक्क लालीगुराँस फुलेको छ । पाथीभरा देविको दर्शन गर्न पाथीभरा मन्दिर जानेहरू अहिले लालीगुराँसमा रमाउने गरेका छन । तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिर जाने बाटोमा फुलेको लालीगुँरास सबै भक्तजनहरूका मन तान्ने गरेको काठमाडौँबाट पाथीभरा मन्दिर दर्शन गर्न आएका रोजिना थापामगर बताउनुभयो ।

पाथीभरा जादा होस या फर्कँदा जो कोहीले पनि लालीगुराँस सँग तस्वीर लिएकै हुन्छन माथिल्लो फेदीका गुराँस होटलका सञ्चालक राजेन्द्र महतले बताउनुभयो । चैतको शुरु देखि पाथीभरा क्षेत्रमा फुल्न शुरु भएको लालीगुराँस अहिले पाथीभरा क्षेत्र राताम्य रहेको गुराँस चोक एक व्यापारीले बताउनुभयो । नेपालमा पाइने ३२ प्रजातिका गुराँस मध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । विश्वमा दुर्लभ वन्यजन्तु रेडपान्डाका बासस्थान पाथीभरा क्षेत्रमा पर्दछ । कालो भालु, मृग, घोरल साथै नेपालमा मात्र पाइने काँडेभ्याकुर, कालिज, नेपालको राष्ट्रिय पन्छी डाँफेलगायत वन्यजन्तु तथा पन्छी पाइने गर्दछन् ।

यस क्षेत्रमा सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन् ।यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छन् । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ जस्ता प्रजातिसमेत रहेका पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताउनुभयो ।























