स्थानीयले माथिल्लो तमोर जलविद्युत् आयोजनमा गाडे कालो झण्डा
ताप्लेजुङ । ताप्लेजुङको फकताङलुङ गाउँपालिकामा निर्माणाधीन रहेको माथिल्लो तमोर जलविद्युत् आयोजनाको विरोध गदै निर्माणधीन स्थलमा कालो झण्डा गाडिएको छ । सुरुङ निर्माण गर्न थालेपछी फकताङलुङ ३ सिस्नेको निर्माण स्थलमा आज दिउसो कालो झण्डा गाडिएको सङ्घर्ष समितिका संयोजक वीरबल लिखिमले जानकारी दिनुभयो ।
लिखिमका अनुसार आयोजनाको काम रोक्न माग गर्दै कालो झण्डा गाडिएको हो । निर्माणको काम रोक्नुपर्ने मागसहित पहिलो चरणको विरोध स्वरुप सुरुङ निर्माणस्थलमा कालो झण्डा गाडिएको पनि लिङ्खिमको भनाइ छ ।
प्रभावित क्षेत्रका स्थानीयवासीको विरोधलाई सामान्य ठानिए थप कडा सङ्घर्षको कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रने संघर्ष समितिले चेतावनी दिएको छ ।
स्थानीय रैथाने आदिवासी समुदायको अस्तित्व, संस्कार, संस्कृति, ऐतिहासिक तथा पुरातात्विक सभ्यता र पहिचानमाथि अतिक्रमण गरिएको साथै पर्यावरणमा गम्भीर असर पर्ने भन्दै स्थानीयवासीले आयोजनाको विरोध गर्दै आएका छन् । बलजफ्ती आयोजना निर्माण गर्ने दुश्प्रयास नगर्न र कुनै पनि हालतमा काम रोक्नुपर्ने स्थानीयको एक सूत्रीय माग रहेको सङ्घर्ष समितिका संयोजक लिङखिमले बताउनुभयो । तमोर इनर्जी प्रालिले तमोर नदीबाट २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।



















