५ प्रतिशत जनमत नभएकाले सत्ता हत्याउन चाहन्छन् : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच प्रतिशत पनि जनमत नभएकाहरूले लोकतान्त्रिक व्यवस्था परिवर्तन गरी सत्ता हत्याउन खोजेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त धारणा राखेका हुन् ।
मुलुकमा प्रतिगमन ल्याउनका लागि त्यस्ता क्रियाकलाप भएको बताउँदै त्यसका लागि मुलुकमा अराजकता ल्याउन खोजिएको ओलीको भनाइ थियो ।’नेपालमा जसरी देश अगाडि बढेको छ, त्यसलाई फेरि पछाडि फर्काउने खालका सोच, प्रवृति, माग केही हिजो समान्तवादी व्यवस्था हुँदा लाभ लिएका मान्छे वा अहिले पनि लाभ लिन सकिन्छ भन्ने ठान्ने मान्छे त्यस्ता खालका प्रयासमा पनि लागेको देखिन्छ । उनीहरूसँग पनि जनमत छैन । उनीहरू बढीमा पाँच प्रतिशत छन्, त्योभन्दा बढी छैनन् । बट अन द स्ट्रेन्थ फाइभ पर्सेन्ट… दे वान्ट टु क्याप्चर द पावर ।’
प्रधानमन्त्री ओलीले सरकार र व्यवस्था नै त्यो पाँच प्रतिशतको बलमा परिवर्तन गर्न खोजेको बताएका हुन् । त्यस्ता संकेत नेपालमा देखा परेको उल्लेख गर्दै ओलीले अराजकता त्यसैको आडमा ल्याइएको बताउनुभयो ।
त्यस्ता कुराहरुको अलिकति संकेत देखा परेको छ । विभिन्न ठाउँहरूमा अराजकता देखिएको छ । डेस्टिनेसन के हो भन्दा अन्तिममा गएर उही चुनावमा पुग्नुपर्छ ।
त्यही निर्वाचनमा नपुगी धरै छैन, कुनै हिसाबले पनि । जसरी भए पनि पावर क्याप्चर गर्दा पनि भोलि गएर चुनावमा जान परिहाल्छ, चुनावमा गएपछि फेरि ती तत्व साइडमा लाग्छन् । किनभने तिनी पपुलर तत्व हुन सक्दैनन् । तिनीहरुसँग न योगदान छ, न देश बनाउने भिजन छ, केही पनि छैन । उनीहरूको गन्तव्य नै केही छैन, ओली भन्नुभयो । एनार्किजम् एन्ड क्याप्चर द पावर, त्यति हो । यसरी अराजकता मच्चाउनले र सत्ता कब्जा गर्न खोजिएको ओलीको भनाइ थियो ।
समाजमा रहेको असन्तुष्टिलाई त्यस्ता तत्वहरूले बढावा दिएको ओलीको भनाइ थियो । समाज नै असन्तुष्टि प्रधान रहेको बताउँदै ओलीले साकारात्मक ढंग र सोचका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।



















