पूर्व राजादेखि सत्तामा बसेका सबैको तीनपुस्ते सम्पत्ति छानबिन गर्न आयोग बनाऔं : गगन थापा

वेलकम खबर
चैत्र २९, २०८१

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शासन सत्तामा बसेका सबैको तीनपुस्ते सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । कांग्रेस भोजपुरको दोस्रो जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।
उनले पूर्वराजादेखि कांग्रेससम्म शासन सत्तामा बसेका सबैको तीनपुस्ते सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउनु पर्ने बताए । नेता परोस् कि नाता परोस् नहेरी सम्पत्ति छानबिन गर्नुपर्ने महामन्त्री थापाको भनाई छ। उनले शक्तिशाली आयोग बनाएर छानबिन मात्र नभएर कारबाही समेतको अधिकार दिनुपर्ने बताए।
महामन्त्री थापाले भने, ‘आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ । आयोगले अनुसन्धान गर्छ, अनुसन्धान गरेको विषय छापामा ल्याउँछ । वर्षौसम्म तलाइँ थुन्दिउ तलाइँ थुन्दिउ भनेर बिताउँछ । एउटा शक्तिशाली आयोग बनाऊ । शक्तिशाली आयोगलाई ०४६ सालपछि शासनसत्तामा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने अधिकार दिऔं ।’
उनले ०४६ यताका शासन सत्तामा बसेका सबै व्यक्तिहरूको सम्पत्ति र आयव्यय हेरेर छानबिन गरी कारबाही गर्ने अधिकार आयोगलाई दिनुपर्ने बताए । ०४६ सालपछि नेपालमा कांग्रेस, एमाले, माओवादी, राप्रपा मात्र नभएर पूर्वराजाले पनि शासन गरेको भन्दै सबैमा छानबिन गर्नुपर्ने बताए । उनले कांग्रेसका जति मान्छे पर्छ परून् भन्दै भ्रष्टाचारीको भारी पार्टीले बोक्न नसक्ने बताए । उनले ६ महिना, एक वर्ष वा त्योभन्दा बढी समय लागे पनि छानबिन भने अघि बढाउनु पर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*