‘राजतन्त्र फर्काउने प्रयास गर्नु मसान घाटबाट मुर्दा ब्युँताउनु जस्तै’

काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राजतन्त्र पुनर्स्थापना प्रयासलाई ‘मसानघाटबाट मुर्दा ब्युँताउने कोसिसको’ संज्ञा दिएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा राजतन्त्र फेरि कहिल्यै शासनसत्तामा नआउने ठोकुवा गरे।
मन्त्री पौडेलले राजतन्त्रले आफ्नो औचित्यमाथि प्रश्न उठाएका कारण नेपाली समाजबाट सधैंका लागि विदा भइसकेको बताए। “शुक्रबार सडकमा देखिएको राजतन्त्रको विद्रूप अनुहारले हिंसा, आतंक, लुटपाट र नागरिक हकविरुद्ध उनीहरूको चरित्र उजागर गरेको छ,” उनले भने।
गत शुक्रबारको राजावादी प्रदर्शनलाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन्।
“राजतन्त्रवादीहरू हिंसा र अधिनायकवादको पक्षमा छन्। नेपाली जनता लुटतन्त्र र असमानताको पक्षमा कहिल्यै रहँदैनन्,” पौडेलले भने। उनले गणतन्त्रवादी दलहरूलाई जनताको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने अभिभारा रहेको औंल्याए।
उनले राजनीतिक दलहरूले जनताका आकांक्षा सम्बोधन गरी विभेद र असमानता हटाउन ठोस कदम चाल्नुपर्नेमा जोड दिए। “हामीले यो व्यवस्थालाई बलियो बनाउन कुनै दुविधा राख्नुहुँदैन,” उनले थपे।