प्रेस चौतारीमा पनि प्रतिस्पर्धा रोक्न खोज्दै एमाले नेतृत्व

वेलकम खबर
चैत्र ९, २०८१

विराटनगर। पार्टीका विभिन्न कमिटीहरूको नेतृत्व चयन गर्दा सकेसम्म चुनावी प्रतिस्पर्धा गराउन नचाहने एमाले नेतृत्वले पत्रकारहरूको संस्था प्रेस चौतारीमा पनि सोही अभ्यासलाई निरन्तरता दिने प्रयास गरिरहेको छ।

आइतबार विराटनगरमा सुरू भएको चौतारीको दसौं राष्ट्रिय महाधिवेशनको पहिलो दिन पार्टीका सबैजसो नेताहरू चुनाव नगराई सहमतिका नेता छान्नुपर्ने कसरतमा लाग्दा उम्मेदवारहरू भने चुनाव नै मागिरहेका छन्।

महाधिवेशन सुरू नहुँदै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारीको अध्यक्ष गणेश पाण्डेलाई बनाउन मौखिक निर्देशन दिएपछि महाधिवेशन हलमा अन्योलको अवस्था छ।

उपाध्यक्ष पाण्डेलाई अध्यक्ष र चेतन अधिकारीलाई महासचिव बनाउन ओलीले निर्देशन दिएपछि अर्का उपाध्यक्ष राजेश राई समूह कसैगरी चुनावमा जाने अडानमा छ।

आइतबार बिहानसम्म पनि प्रधानमन्त्री ओली आउने भनेर प्रचारित कार्यक्रमको उद्घाटनमा उनी अनुपस्थित रहे। महासचिव शंकर पोखरेलले महाधिवेशन उद्घाटन गरे। उद्घाटन अघि पोखरेलले  भानुभक्त ढकाल,राजेन्द्र गौतम, घनश्याम खतिवडा सहितका नेताहरूसहित उपाध्यक्ष राईसँग छलफल गरेका थिए।

‘पार्टीको निर्णय गणेश पाण्डेलाई अध्यक्ष बनाउनु भन्नेछ, तपाईं स्वीकारेर जानुस्’, महासचिव पोखरेलले राईलाई भनेका थिए ‘पार्टी निर्णय मान्नुस्। तपाईं पार्टी प्रचार विभागको सचिव बस्नुस्।’

उपाध्यक्ष राई निकट चौतारीका एक नेताले दिएको जानकारी अनुसार जबाफमा उपाध्यक्ष राईले प्रतिनिधिहरूबाट छनोट हुन पाउने अधिकार प्रयोग गर्न पाऊँ भन्ने अनुरोध गरेका थिए।

‘देशभरीबाट प्रतिनिधिहरू छानिएर आएका छन्, उनीहरूबाटै नेतृत्व छनोट हुने वातावरण पार्टीले बनाइदिनुपर्‍यो,’ राईले भनेका थिए।    सेतो पाटी 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु