तालाबन्दी जस्ता अनैतिक हर्कत गरेर नेविसंघले स्ववियु निर्वाचन भाँड्न खोज्यो : अनेरास्ववियु

वेलकम खबर
चैत्र २, २०८१

काठमाडौँ। नेविसंघलाई तालाबन्दी जस्ता अनैतिक हर्कत गरेर स्ववियु निर्वाचन भाँड्न नखोज्न अनेरास्ववियुले चेतावनी दिएको छ। अध्यक्ष समिक बडालले शनिबार एक विज्ञप्ति जारी गर्दै चैत ५ गते त्रिभुवन विश्वविद्यालयमा हुन गइरहेको स्ववियु निर्वाचन भाँड्न नखोज्न चेतावनी दिएका हुन् ।

देशभरका अधिकांश क्याम्पसहरूमा निर्वाचन प्रक्रिया अगाडी बढिरहेको छ । तर, स्ववियु चुनावलाई जति सक्दो अलमल्याउने, नतिजा सुनिश्चित नभएसम्म प्रक्रिया अवरुद्ध गर्ने र विद्यार्थी हित भन्दा दलगत स्वार्थलाई प्राथमिकता दिने कांग्रेस निकट नेविसंघ फेरि पनि आफ्नै पुरानो शैलीमा फर्किएको अनेरास्ववियुकाे आरोप छ।नेविसंघभित्रकाे आन्तरिक विवादका कारण त्रिवि विश्वविद्यालय क्याम्पस, पब्लिक युथ क्याम्पस, पद्मकन्या क्याम्पस लगायतका क्याम्पसहरूमा तालाबन्दी गरेको छ । नेविसंघले आफ्नै आन्तरिक झगडा मिलाउन नसकेको बहाना बनाएर तालाबन्दी गरेको अनेरास्ववियुकाे आरोप छ । निर्वाचनमा प्रतिस्पर्धा गर्ने आत्मबल नभएका कारण लोकतन्त्रको खोक्रा नारा घन्काउँदै चुनाव नै भाँड्ने प्रयास भइरहेको छ अध्यक्ष बडालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

लोकतन्त्रको रट लगाउने, चुनाव आउनासाथ लोकतन्त्रको घाटी निमोठ्ने, विद्यार्थीलाई प्रयोग गरेर व्यक्तिगत स्वार्थ साध्ने कांग्रेसको पुरानै शैली फेरि दोहोरिएको अनेरास्ववियुकाे भनाइ छ ।

अनेरास्ववियु निर्धारण गरिएको समयमा निर्वाचन गराउन दृढ रहेको अध्यक्ष बडालकाे भनाइ छ । त्रि.वि. स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०८१ मा निर्वाचनको कार्यविधि स्पष्ट रूपमा उल्लेख छ । अव्यवहारिक माग राखेर, तालाबन्दी जस्ता अनैतिक हर्कत गरेर चुनाव भाँड्न खोज्ने नेविसंघलाई अनेरास्ववियुले कडा चेतावनी दिएको हो।

त्रिवि प्रशासन, सम्बन्धित निर्वाचन समिति तथा सरकारलाई समेत तोकिएको मितिमा निर्वाचन गराउन माग गरेको छ। तालाबन्दी, अवरोध, अस्थिरता र षड्यन्त्र नेविसंघको स्वाभाविक चरित्र रहेको बताउँदै अनेरास्ववियुले विद्यार्थी संगठनको खोल ओढेर यसरी खेलबाड गरिएको खण्डमा सह्य नहुने चेतावनी दिए।

अनेरास्ववियुले मातहतका सबै कमिटी, नेता तथा कार्यकर्ताहरूलाई स्ववियु निर्वाचनमा कुनै अवरोध सिर्जना नगर्न, गराउन खोज्नेहरूलाई विद्यार्थीहरूको ऐक्यबद्धताबाट प्रतिउत्तर दिन र कुनै पनि हालतमा तालाबन्दीको राजनीति नस्विकार्न निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*