पूर्वराजालाई प्रधानमन्त्री ओलीको सुझाव: पार्टी खोलेर चुनाव लड्न आए हुन्छ
काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन भए खुला मैदानमा आउन चुनौती दिनुभएको छ।
सोमबार काठमाडौँमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिनुभएको हो।
प्रधानमन्त्री ओलीले राजतन्त्र पुनः स्थापना असम्भव रहेको बताउँनुहुँदै पूर्वराजा शाहलाई बरू पार्टी खोलेर चुनाव लड्न सुझाव दिनुभयो। ‘पूर्वराजा शाहलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो।
प्रधानमन्त्री ओलीले मुलुकमा संविधान विपरीतका गतिविधि बढ्न थालेको भन्दै त्यस्ता कुनै पनि काम हुन नदिने र रोक्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले राजावादीका नाममा सिङ्गै समाजलाई अशोभनीय बनाउने काम भइरहेको जिकिर गर्नुभयो । उहाँले राजनीति गर्न मन भए खुला मैदानमा आउन पूर्वराजालाई सुझाव दिँदै अस्थिरता र अराजकता फैलाउन नदिइने चुनौती दिनुभयो।



















