बैंकहरु खराब साहु जस्ता : प्रधानमन्त्री ओली

वेलकम खबर
फाल्गुन २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले ऋणीहरुमाथि खराब साहुको जस्तो व्यवहार गरेको टिप्पणी गरेका छन् । ऋणी अप्ठ्यारोमा परेको बेला उसलाई सहयोग गर्नुको साटो झन घाँटी निचोर्ने खालको व्यवहार बैंकबाट हुने गरेको प्रधानमन्त्रीले टिप्पणी गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजबाट सुरु पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उदघाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अप्ठ्यारोमा पर्‍यो भने ऋण असुल गर्न हतार गर्ने होइन, ऋण थपेर त्यसको व्यवसायलाई टिकाएर बल्ल असुल गर्ने बाटो लिनुपर्छ। उद्योगहरुको सन्दर्भमा पनि त्यही हो ।’ उद्योगी व्यवसायीहरु अप्ठ्यारोमा परे भने बैंकहरुको ध्यान हतार–हतार असुल्नतिर जाने गरेको भन्दै प्रधानमन्त्रीले त्यस्तो व्यवहार नगर्न सुझाव दिए ।
प्रधानमन्त्री ओलीले भने, ‘भन्दाखेरि खराब ऋणी भन्ने, तर त्यहाँ साहु खराब हुन्छ । जसले अप्ठ्यारो परेको बेला सहयोग गरेर अगाडि बढाउने ठाउँमा, अप्ठ्यारो बेलामा मद्दत नगरेर अझ घाँटी निचोर्ने खालको काम हुन्छ । यस कुराबाट हामी जोगिनुपर्छ ।’ कोही ऋणी भएर ऋण नतिरेर डुब्न नचाहने भन्दै प्रधानमन्त्री ओलीले कहिलेकाहिँ परिस्थितिले अप्ठ्याराहरु आउने बताए । अप्ठ्यारोमा परेकाहरुलाई मद्दत गर्न र तरिका मिलाएर ऋण उठाउन उनले बैंकहरुलाई सुझाव दिए । ‘त्यो रिटर्न हुन्छ, तरिका मिलायो भने रिटर्न हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘उसलाई मद्दत गर्नुपर्‍यो । ऊ डुब्दैछ भने पहिले उसलाई उतार्नु पर्‍यो । ऊ डुबिहाल्यो भने त कहाँबाट तिर्छ रु’

प्रधानमन्त्री ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन्।राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन महत्वपूर्ण हुने धारणा व्यक्त गरे । उनले विदेशका विभिन्न मुलुकमा गएर नेपालीहरुले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुने हो भने अर्थतन्त्रको उत्थान नहुने भएकाले विज्ञान प्रविधिको भरपुर उपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नेतर्फ ध्यान जानुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले विश्व बजारमा प्रतिस्पर्धी हुनसक्ने दक्ष जनशक्ति उत्पादन गर्न र स्वदेशमै बढीभन्दा बढी रोजगारी सिर्जना गर्न लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय सीप विकास प्रतिष्ठान र रोजगारदाता कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एकीकृत श्रम बजार सूचना प्रणाली विस्तारका लागि श्रम तथा रोजगार मन्त्रालय र स्विस एजेन्सीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*