सुकेटार विमानस्थल अढाई महिनादेखि ठप्प
ताप्लेजुङ । ८७ वर्षीय कमला विष्ट यतिबेला जिल्ला अस्पतालमा छन् । फुङलिङ नगरपालिका(४ निवासी उनलाई थप उपचारका लागि परिवारले काठमाडौँ लैजाने चाहेका छन् । वान्ता ९वाकवाकी० हुने भएकाले परिवारले गाडीमा लैजान कठिन छ । नाति सुरज ओझा झापाबाट सुविधा सम्पन्न एम्बुलेन्स मगाउने मनस्थितिमा छन् ।
तर यसअघि पनि गाडीमा यात्रा गर्दा धेरै नै वान्ता हुने र यात्रा गर्न कठिन हुने भएकाले परिवारका अरु सदस्य मानेका छैनन् । पीडा हेर्दै गाडीमा डोर्याउने कि ऐया।। ऐयाको आवाज सुन्ने भन्नेमा परिवार बिलखन्दमा छन् । यतिवेला जिल्लाको एक मात्र सुकेटार विमानस्थल बन्द छ । त्यसैले अरु विकल्प परिवारसँग छैन ।
फक्ताङलुङ गाउँपालिका(२ खेजेनिमका केन्द्रसिंह लिम्बूलाई उनका नाति श्रवण लिम्बूले जिल्ला अस्पतालबाट घर फर्काए । जिल्ला अस्पतालमा तीन दिन उपचार गराएपछि चिकित्सकले काठमाडौँ वा धरानको घोपा लैजान सल्लाह दिएका थिए । गाडीमा जान नचाहने र जहाज नभएका कारण बिरामी बाजेलाई घर फर्काउनु परेको उनले बताए ।
‘राम्रै भए जति बेला जहाज चल्छ त्यतिबेला लैजाने मनस्थितिले गाउँ ल्याएँ,’ उनले भने । नेपाल वायु सेवा निगमका ट्वीनेटर जहाज ग्राउण्डेड भएपछि मंसिर अन्तिम सातादेखि सुकेटार विमानस्थल ठप्प भएको हो । निगमका दुई वटा जहाज हुँदासम्म सातामा पाँच दिन काठमाडौँ–ताप्लेजुङ उडान हुँदै आएको थियो ।-ekantipur



















