पाथीभरा केबुलकारका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री लेखक

वेलकम खबर
फाल्गुन १८, २०८१

काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले पाथीभरा केबुलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको बताउनुभएको छ। राष्ट्रिय सभाको आइतबारको बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो।

गृहमन्त्री लेखकले केबुलकार निर्माणको क्रममा देखिएका समस्या समाधान गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले आन्दोलनत पक्षसँग पटकपटक वार्ता गरेको  बताउनुभयो।

गृहमन्त्री लेखकले आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। सरकारले शान्तिपूर्ण ढङ्गले समस्याको समाधान गर्ने कुरालाई गम्भीरतापूर्वक लिएको गृहमन्त्री लेखकको भनाइ छ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘ताप्लेजुङको पाथीभरा मन्दिर निर्माणका क्रममा देखिएका विवाद र समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको छ। सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहन्छ। यसका लागि सम्बन्धित पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गत माघ २० गते वार्ता टोली गठन गरिएको र उक्त टोलीले आन्दोलनरत पक्षसँग सहजीकरण गरिराखेको छ।’

समस्या समाधानका लागि वार्ताटोलीले पटकपटक संवाद गरेको वार्तामा अवरोध भएपछि पुनः वार्ताको आह्वान गरेको र आन्दोलनरत पक्षले उठाएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उहाँले प्रष्ट पार्नुभएको हो।

गृहमन्त्री लेखकले हाल पाथीभरा क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएर शान्ति सुरक्षा प्रदान गरिरहेको दाबी गर्नुभयो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*