भूमि समस्या समाधान आयोग ताप्लेजुङका सदस्यलाई सपथ तथा स्वागत
ताप्लेजुङ । भूमि समस्या समाधान आयोग ताप्लेजुङमा नियुक्त सदस्यले सपथ ग्रहण गरेका छन् ।
आयोगमा नियुक्त हुनु भएका सदस्यद्वय सन्तोष चाम्लिङ र मिना कुमारी केदेमले आज सपथ ग्रहण गर्नु भएको हो । सपथ ग्रहणसँगै पदेन सदस्यहरूलाई स्वागत समेत गरिएको अध्यक्ष कृष्णकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार विज्ञ सदस्यमा नियुक्त हुनु भएका चाम्लिङ र महिला सदस्यमा नियुक्त हुनु भएका केदेमलाई सपथ ग्रहण गराइएको छ ।
अध्यक्ष बस्नेतले यसअघि नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सपथ ग्रहण गरेका थिए । सरकारले गत पुष २१ गते ताप्लेजुङका सहित २३ ओटा जिल्लाको भूमि आयोगको अध्यक्ष नियुक्त गरेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला समन्वय समिति र डिभिजन वन कार्यालयका प्रमुख आयोगको पदेन सदस्य रहने व्यवस्था रहेको छ ।
सोही अनुसार अध्यक्ष बस्नेतले सहायक प्रजिअ सन्दिपा खड्का, जिल्ला समन्वय अधिकारी युवराज पौडेल, मालपोत कार्यालय प्रमुख निर्मल शेर्पा, नापी कार्यालय प्रमुख रजिता श्रेष्ठ र डिभिजन वन कार्यालयका प्रमुख नथुनि गोईवार शाहलाई आयोगमा स्वागत गर्नुभएको छ । आयोगमा अध्यक्ष सहित ४ जना सरकारबाट नियुक्त हुने व्यवस्था रहेको छ । जसमध्ये एक जना नियुक्त हुन बाँकी रहेको अध्यक्ष बस्नेतले बताए ।
जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण प्रसाद लिङखिम, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा लगायतको उपस्थितिमा सदस्यहरुलाई सपथ ग्रहण तथा स्वागत गरिएको आयोग ताप्लेजुङले जनाएको छ । उपस्थित अतिथिहरूले आयोगको सफल कार्यकालको शुभकामना प्रकट गरेका थिए ।-radiotamor



















