पाथीभरा केवलकारको विषयमा हुलदंगा मुद्दाका फरार दुईजना पक्राउ
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा केबलकार विवादको विषयमा भएको झडपमा आपराधिक उपद्रो र हुलदंगा गरेको मुद्दामा फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । गत शनिबार विरेन्द्रचौक लगायत विभिन्न ठाउँमा आपराधिक उपद्रो गरेको अभियोगमा जिल्ला प्रहरी ताप्लेजुङले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाँचथर याङवरक गाउँपालिका २ की ४३ वर्षीय इन्दिरा धौराली र फक्ताङलुङ गाउँपालिका ५ का ३७ वर्षीय सुवास तुम्बाहाङफेलाई रहेको प्रहरीले जनाएको छ । फुङलिङ बजारको विरेन्द्रचोक शनिबार साँझ भएको झडपमा आपराधिक उपद्रो र हुलदंगा गरेको, साथै जिल्लाका विभिन्न ठाउँमा हुलदंगा गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । घटनापछि फरार रहेका उनीहरुलाई खोजतलास गर्ने क्रममा सोमबार फुङलिङ नगरपालिका ४ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी रवी रावलले जानकारी दिए ।
हुलदंगाको आरोपमा प्रहरीले शनिबार राति १५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको म्याद थपी अनुसन्धानलाई जारी राखिएको जिल्ला प्रहरी कार्यालय प्रमुख रावलले जानकारी दिए । उनका अनुसार सोमबार नियन्त्रणमा लिइएका धौराली र तुम्बाहाङफलेलाई समेत सोही म्यादमा मिलान हुने गरि पाँच दिनको समयावधि लिई अनुसन्धान सुरु गरिएको प्रनाउ रावलले बताए ।
मुलुकी संहिता २०७४ को दफा ६३ बमोजिम हुलदंगा गरेको र सोही संहिताको दफा २८५ बमोजिम आपराधिक उपद्रो गरेको कसुरमा १५ जनालाई नै अनुसन्धान गरिरहेको र दुई जनालाई पनि अनुसन्धान गरिने प्रहरी प्रमुख रावलको भनाइ छ ।



















