सरकारले भन्यो–प्रचण्ड सरकारका कारण नेपाल ‘ग्रे लिस्ट’ मा पर्‍यो

वेलकम खबर
फाल्गुन १३, २०८१

काठमाडौं ।  सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल ‘ग्रे लिस्ट’ मा पर्नुको कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकार भएको दाबी गरेका छन् ।मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न पत्रकार आयोजित सम्मेलनमा बोल्दै ओली सरकारको ५-७ महिनाको कामको कारणले नपरेको जिकिर गरे ।

उनले भने, ‘ग्रे लिस्टमा परेको अहिलेको ५-७ महिनाको कामले होइन । अघिल्लो सरकारको काम हो त्यो । नेपाललाई ग्रे लिस्टबाट ग्रिन लिस्टमा ल्याउन हामीले गर्नुपर्ने मनि लाउण्डरिङ्ग विषयमा जोडिएको हुन्छ । सम्पत्ति निवारणसम्बन्धी काम पनि धेरै नभएको कारणले पनि समस्या भएको हो । अहिलेको प्रतिपक्षी दलले आफ्नो ठाउँबाट भन्ने कुरा त छ । तर, नैतिक अधिकार छैन ।’

उनले चाँडै ग्रे लिस्टबाट बाहिर निस्कने सुधारको काम सरकारले गर्ने बताएका छन् । ‘विश्व  राजनीतिमा आएको फेरबदलले नेपालको राजनीतिमा धेरै थोरै असर गरे पनि वैदेशिक सहायता ऋण अनुदानमा असर गरेको थिएन,’ उनले भने, ‘तर अहिले अमेरिकी सरकारले गरेको निर्णयले गम्भीर हुन र समीक्षा गर्न बाध्य बनाएको छ ।’

नेपाल सरकारले कस्तो विषयमा ऋण सहायता लिने कस्तोमा नलिने भनेर अध्ययन गरेर मात्र निर्णय लिनुपर्ने आवश्यकता उनले बताए ।  अमेरिकी सरकारले यूएसएड खारेज गर्ने र एमसीसी कार्यक्रम स्थगन गर्ने निर्णयले पारेको असर बाट नेपालले पाठ सिक्नुपर्ने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*