ताप्लेजुङको फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी
ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ ।
पाथीभरा केबलकार विवाद चर्किंदै गएपछि परिस्थिति प्रतिकूल बन्दै गएकोभन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज देखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जिल्लाको सम्वेदनशील र प्रतिकूल परिस्थिति बनेका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख गर्नुभएको छ । आइतबार बिहान ५ बजेदेखि अर्को सूचना नभएसम्म फुङ्लिङ बजार क्षेत्रसहित पूर्वतर्फ दोखु सल्लेरी, पश्चिमतर्फ घोडेटार थलङधारा, उत्तरतर्फ उकालीपानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कञ्चनजंघा टोल सीमा निर्धारण गरिएको छ ।
यस्तै पाथीभरा क्षेत्रको काफ्लेपाटी बलुडाँडा क्षेत्रअन्तर्गत पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलुडाँडा डढेले इलाका, उत्तरतर्फ केबलकार बेस स्टेशन र दक्षिणतर्फ निर्माणधीन नयाँ बसपार्कको १०० मिटर क्षेत्रभित्र सीमा (चार किला) तोकिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र पाँच जना भन्दा बढी मानिस जमघट हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउजस्ता गतिविधि गर्न नपाउने सूचनामा उल्लेख गरिएको छ । निषेधाज्ञाको उल्लंघन गरेमा कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।




















