अपमानबाट जोगिन आफ्नो देश आफैं बनाउने अभियानमा जुटौं : महासचिव पोखरेल
काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरिबीमाथिको अपमानबाट जोगिन आफ्नो देश आफैं बनाउने अभियानमा लाग्न आग्रह गरेका छन् । आज (शुक्रबार) सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले गरिबीमाथिको अपमानबाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा लाग्न र अरुलाई पनि भन्न आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि । गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा जुटौं र भनौं ।’महासचिव पोखरेलले गरिबीमाथिको अपमानबाट जोगिन नेपालले आत्मनिर्भर हुने अभियानमा लाग्नुपर्ने भन्दै ‘हामी बनाउँछौं हाम्रो देश नेपाल’ भन्ने सन्देश प्रवाह गरेका छन्। तीन दिनअघि अमेरिकाका राष्ट्रपति ट्रम्पले नेपाललाई दिएको अनुदानलाई ‘फ्रड’ भनेर टिप्पणी गरेका थिए । जसको अहिले नेपालमा व्यापक चर्चा भइरहेको छ ।



















