ज्ञानेन्द्रकै कारण राजतन्त्रको अन्त्य भएको हो : भट्टराई

वेलकम खबर
फाल्गुन ८, २०८१

सुर्खेत  । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले तत्कालीन राजा ज्ञानेन्द्र शाहकै कारण नेपालमा राजतन्त्रको अन्त्य भएको बताएका छन्। उनले अब नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताए।

‘नेपालमा राजतन्त्रको अन्त्य एमाले-कांग्रेससहितका राजनीतिक दलहरूले गरेका हुन्,’ प्रेस चौतारी नेपालमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘राजतन्त्र अन्त्य हुने परिस्थिति भने स्वयं राजा ज्ञानेन्द्रले तयार पारेका हुन्।’

भट्टराईले दरबार हत्या काण्ड घटाउन केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड नगएको बताउँदै राजतन्त्र फर्किने कुरा गरेर जनतालाई भ्रमित पार्न नहुने बताए। ‘दरबार हत्या काण्ड घटाउन कोही नेताहरू जानु भएको होइन, कसले हत्या गर्यो, उहाँहरूले नै भनिसक्नु भएको छ,’ उनले भने, ‘अहिले आएर राजतन्त्र फर्काउँछु भन्नु व्यर्थको प्रयत्न हो, नेपालमा राजा फर्किँदैन, जनतालाई भ्रमित पार्ने काम कसैले गर्नुहुन्न।’

भट्टराईले सामाजिक सञ्जाल निषेध र नियन्त्रण नभएर नियमन गर्न आवश्यक रहेको बताए। उनले त्यस विपरीत पाइए एमाले आफैँले संशोधनका लागि प्रस्ताव पेस गर्ने बताए। उनले सामाजिक सञ्जाल सञ्चालन गर्ने मालिकहरूलाई कानुनी दायरमा ल्याउने उद्देश्य यसको रहेको बताए। ‘भारत, अमेरिका, चीनमा कानुनभित्र बस्नपर्ने अनि नेपाललाई सानो देश भनेर हेप्न मिल्छ?’ उनले भने, ‘सामाजिक प्लेट फर्म नेपालमा दर्ता हुनुपर्यो, नेपालको कानुन अनुसार चल्नुपर्यो।’

उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सामाजिक सञ्जालको टाउको रेट्ने गरेर काम गरिएको बताउँदै वर्तमान सरकार त्यसतर्फ केन्द्रित नरहेको बताए। ‘दाहालले टाउको काट्ने उपाय सोच्नुभयो, टिकटकको टाउको काट्नुभयो,’ उनले भने, ‘अहिलेको सरकारले टाउकोमा जुम्रा देख्यो, चाया देख्यो, नुहाएर सफा गरेर टिकटक खुल्ला गर्यो।’

भट्टराईले उत्तरतर्फ जोडिने कर्णाली र भेरी करिडोर जोड्ने सडकको स्तरीकरणलाई प्राथमिकतामा राखेको बताए। उनले सुर्खेत विमानस्थल विस्तारको आवश्यकता औंल्याए। उनले भूमिसम्बन्धी अध्यादेश राष्ट्रियसभाबाट पारित हुने बताए। ‘राष्ट्रियसभामा ३१ जना माननीयको समर्थन आवश्यक छ,’ उनले भने, ‘त्यो संख्या हामी पुर्याउँछौं।’

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु