बकबास गरेर हिँड्ने हो भने प्रचण्डका धेरै षडयन्त्रको पर्दाफास गरिदिन नपरोस् : प्रधानमन्त्री

वेलकम खबर
फाल्गुन ५, २०८१

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कटाक्ष गर्दै अनावश्यक आरोप नलगाउन चेतावनी दिएका छन् ।

दाङको घोराहीमा नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्ता बाहिरिएपछि प्रचण्डले आत्तिएर अनेकन आरोप लगाइरहेको टिप्पणी गरे । अध्यक्ष ओलीले एमालेविरुद्ध आउने कुनै हल्लाको पछाडि नलग्न समेत आग्रह गरे ।

‘लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनलाई मास्न राजा ज्ञानेन्द्रसँग मिल्नेहरू अहिले बाध्यताले लोकतन्त्रसँग सम्झौता गर्न आएका छन् र आफूलाई लोकतन्त्रका मसिहा देखाउन खोजिरहेका छन्’ उनले भने । प्रधानमन्त्री ओलीले माओवादी नेतृत्वले विगतमा तत्कालीन राजा ज्ञानेन्द्रसँग मिलेर सत्ता साझेदारीको योजना बनाएको आरोप लगाउँदै त्यस्ता व्यक्तिहरूलाई लोकतन्त्रको दुहाइ दिन नसुहाउने बताए ।

‘त्यस्ता मान्छेले हामीलाई लोकतन्त्रको दुहाइ दिन सुहाउँदैन । धेरै बकवास गरेर हिँड्ने हो भने प्रचण्डका धेरै षड्यन्त्रको पर्दाफास गरिदिन नपरोस्’, ओलीले चेतावनी दिए । यसअघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गरेका थिए । उनी आजै काठमाडौं फर्कने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*