दम चेन्जी माबोलाईलाई कालोमोसो दल्ने विरुद्ध पक्राउ पुर्जी जारी

वेलकम खबर
फाल्गुन ५, २०८१

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जी माबोलाई धरानमा कालोमोसो दल्ने आठजना विरुद्ध आपराधिक उपद्रो व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। सोमबार माबोले इलाका प्रहरी कार्यालय धरानमा आफूलाई कालो मोसो दल्ने ८ जना विरुद्ध किटानी जाहेरी दिएका हुन्।

उजुरीपश्चात् प्रहरीले अभियुक्त ८ जना विरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको छ। प्रहरीले ८ जना विरुद्ध पक्राउ पुर्जीको अनुमति लिए पनि उनीहरूको नाम गोप्य राखेको छ। माबोलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान-९ स्थित पुतलीलाइनमा कुटपिट गरी कालोमोसो दलेका थिए।

माबोले केबुलकारको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र केबलकारको विरोध गर्नेहरूलाई गालीगलौज गरेको भन्दै कालोमोसो दलेर माफी माग्न लगाएका थिए। कालोमोसो दल्ने कार्यमा संलग्न जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम, समाजवादी पार्टी धरानका सचिव सुमन चेम्जोङ, पहिचानवादी मोर्चाका नेता जेन्टल लावती लगायत ८ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको बुझिएको छ। प्रहरीले कालोमोसो दल्नेलाई भने पक्राउ गर्न सकेको छैन।

सुनसरीका प्रहरी प्रमुख सुमन कुमार तिम्सिनाले कानुनविपरीत काम गर्ने जो कोहीलाई पक्राउ गरी कारबाही गरिने बताए। पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीमा संलग्न भएका माबोले पाथीभरा मन्दिरमा केबलकार निर्माण हुँदा जिल्लाको विकास हुने बताउँदै आएका छन्।

जनमुक्ति पार्टीका उपमहासचिव थाम्देनले प्रहरीले पहिचान पक्षधर नेता कार्यकर्ताहरूलाई पक्राउ गर्न खोजेर झडपको स्थिति सिर्जना गरेको बताए। उनले तत्काल पाथीभरा मन्दिर क्षेत्रमा केबुलकार निर्माणको काम बन्द नगरिए आन्दोलन सशक्त बनाउने चेतावनी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*