पाथिभरामा केबलकार निर्माण : बाँकी रूख कटीयो

वेलकम खबर
माघ ३०, २०८१

ताप्लेजुङ। केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको छ । सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिएपछि केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको हो ।

बुधबार बिहान १७ प्रतिशत कटान सकिएको र अब बटम स्टेसन आसपासका केही रूख मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ । यसअघि गत जेठको पहिलो हप्ता ८० प्रतिशत रूख कटान गरेको थियो ।

वार्ता समितिले गरेको ६ बुँदे सहमतिमा बटम स्टेसन माथिको काम नगर्ने उल्लेख थियो । तर आन्दोलनरत समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेपछि रूख कटान गरिएको कम्पनीले जनाएको छ ।

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार ठूला रूख २१ सय १४ वटामा टाँचा लगाइएको थियो । ठूला, साना, पोथ्रा, पोथ्री गरी छ हजार रूख कटान हुने उल्लेख छ । यस्तै बटम स्टेसनको काम पनि जारी रहेको कम्पनीले जनाएको छ ।

यता प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलले अवस्थाको मध्यनजर गर्दै सुरक्षाको व्यवस्था गरिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘न रूख कटान गर्न पठाउँछौँ न रूख काटेको रोक्न पठाउँछौ हामीलाई रूख कटानको जानकारी बिहान प्राप्त भयो त्यस पश्चात मुठभेड नरहोस भन्ने उद्देश्यले आवश्यक मात्रामा सुरक्षाको व्यवस्था गरेका हौँ ।’

यस्तै केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले आफूहरू माथि राज्यले अन्याय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उता वार्ता भन्ने यता रूख कटान गर्ने हामी माथि सरकारले अन्याय गर्यो ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*