पहिचानबादी जिल्ला संयोजक मादेन पक्राउ
ताप्लेजुङ। पाथीभरामा भएको झडपको विषयलाई लिएर मेची राजमार्ग र तमोर करिडोर यातायात बन्दको आह्वान गरेको ‘नो केबलकार समूह’ का प्रदीप मादेनलाई प्रहरीले पक्राउ गरेको छ । मादेन पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजक हुन् ।
प्रहरीले मादेनलाई सदरमुकाम फुङलिङको कोप्चेबाट पक्राउ गरेको आन्दोलन समूहका अगुवा कीर्तिमान मादेनले जानकारी दिएका छन् । गत माघ १२ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको हुल हुज्जतको नेतृत्व गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मादेनलाई नियन्त्रणमा लिइएको जानकारी दिंदै प्रहरी नायव उपरीक्षक रवि रावलले भने, ‘उहाँले प्रमुख जिल्ला अधिकारीलाई फोनबाट धम्क्याउनु भएको थियो र १२ गतेको हुलहुज्जतको नेतृत्व पनि उहाँले नै गर्नु भएको थियो ।’


















