ताप्लेजुङ झडपबारे छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसदहरुलाई
काठमाडौं । पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार र आन्दोलनको विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले आज (मंगलबार) साँझ ५ बजे पूर्वी पहाडका चार जिल्लाका सांसदहरुलाई गृह मन्त्रालय बोलाएका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबे,सुहाङ नेम्वाङलगायतलाई गृहमन्त्री लेखकले बोलाएका हुन् ।
मन्त्री लेखकले छलफलका लागि गृह मन्त्रालयमा मंगलबार अपराह्न ५ बजे बैठक बोलाएको इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङले जानकारी दिए । ताप्लेजुङ, इलाम, पाँचथर र धनकुटाका प्रतिनिधि सभा सांसदहरूलाई छलफलका लागि बोलाइएको हो ।
ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको काम रोक्न स्थानीयले माग गर्दै आएका छन् । ‘नो केबलकार समूह’को नामबाट सोमबार प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप समेत भएको थियो ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना र भागदौडमा लडेर एक जना गरी जम्मा तीनजना गंभिर घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याएको छ ।
प्रहरीले दमन गरेको भन्दै विरोधमा उत्रिएकाहरुले आज मेची राजमार्ग, तमोर करिडोर बन्द आह्वान गरेका छन् । मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरुले माघ १५ गतेदेखि अनिश्चितकालीन बन्द आह्वान गरेको घोषणा गरेका छन् ।


















