प्रहरीको गोली लागि घाईते भएकालाई काठमाडौं ल्याईयो

वेलकम खबर
माघ १३, २०८१

काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा भएको झडपमा परी घाइते भएकाहरूलाई थप उपचारका लागि आइतबार काठमाडौं ल्याईएको छ । झडपमा आन्दोलनकारी र सुरक्षाकर्मी गरी २६ जना घाइते मध्ये ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याईएको हो ।
घाईते ३ जनालाई विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो तर त्यहाँबाट पनि रेफर गरेपछि उनीहरुको थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याईएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का सुगन लावती र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म पालुङ्वालाई थप उपचाका लागि काठमाडौं पठाईएको जानकारी दिनुभयो ।
घाइतेमध्ये सगुन र यामबहादुरलाई गोली लागेको हो। सगुनको छातीमा र यामबहादुरको तिघ्रामा गोलीले लागेको पाइएको जानकारी यादवले दिए। उनका अनुसार धर्मको कुमको हड्डी भाँचिएको छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–११ बलुडाँडास्थित पाथीभरा क्षेत्रमा पहिचान पक्षधर र प्रहरीबीच शनिबार २ पटक झडप भएको थियो। झडपमा ५ जना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
पाथीभरा क्षेत्रको काफ्लेपाटीभन्दा करिब १ किलोमिटर माथि पहिचान पक्षधरको ‘नो केबलकार’ समूह तथा प्रहरीबीच शनिबार दिउँसो ४ बजेतिर र साँझ ६ बजेतिर झडप भएको थियो।

दिउँसो अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको प्रहरीले साँझ भने गोली नै चलाएको थियो। पाथीभरा माता केबलकार कम्पनीले पाथीभरा क्षेत्रमा केबलकार निर्माण प्रक्रिया अघि बढाएपछि विरोध गर्दै पहिचान पक्षधरले मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समितिलगायतका समिति गठन गरेर आन्दोलन गर्दै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*