ताप्लेजुङको पाथीभरा क्षेत्रमा झडप : २१ सुरक्षाकर्मी र ५ आन्दोलकारी घाइते
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिचान पक्षधरले प्रहरीमाथि ढुंगा र गुलेली प्रहार पछि भएको झडपमा ५ आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएका छन् ।प्रहरीले स्थिती नियन्त्रणमा लिन शनिबार दिउँसो अश्रुग्यास प्रहार गरेको थियो भने, साँझ गोली चलाउनु नै पर्ने अवस्था आइएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जानकारी दिए ।
झडपका क्रममा प्रहरीले हानेको गोली ४ जनालाई लागेको पहिचान पक्षधरको दाबी छ । उनीहरुका अनुसार गोली लागेकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । १ जना भने अश्रुग्यास प्रहार गर्दा घाइते भएका हुन् ।
पाथीभरा क्षेत्रको काफ्लेपाटीभन्दा करिब १ किलोमिटर माथि पहिचान पक्षधरको ‘नो केबलकार’ समूह तथा प्रहरीबीच शनिबार दिउँसो र साँझ दुईपटक झडप भएको हो ।साँझ स्थिति भड्किन थालेपछि गोली नै चलाउनु परेको प्रहरीले जनाएको छ । दिउँसो ४ बजेतिर झडप हुँदा ३ जना सशस्त्र प्रहरी र आन्दोलनरत पक्षका १ जना घाइते भएका थिए । थप घाइते साँझ ६ बजेतिरको झडपमा भएका हुन् ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले आन्दोलनकारीतर्फ ५ जना र सुरक्षाकर्मीतर्फ २१ जना घाइते भएको जानकारी दिए । ‘घाइतेमध्ये २ जना अन्दोलनकारीलाई गोली लागेजस्तो चोट छ । माहोल नियन्त्रण बाहिर जाने अवस्था बनेपछि प्रहरीले हवाईफायर गरेको हो,’ उनले भने ।
अधिकारीका अनुसार घाइते सुरक्षाकर्मीमध्ये नेपाल प्रहरीका १२ र सशस्त्र प्रहरीका ९ जना छन् । इन्स्पेक्टरसहित घाइते भएको उनले बताए । प्रहरीको गोली लागेर तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का मंगल लावती, सगुन लावती र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म पालुङ्वा घाइते भएका छन् ।
घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि आइतबार बिहान विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ । यामबहादुर, सगुन र धर्मलाई थप उपचारका लागि विराटनगर ल्याइएको हो । त्यसअघि जिल्ला अस्पताल ताप्लेजुङमै उपचार गराइएको थियो । सामान्य अवस्थाका मंगल डिस्चार्ज भइसकेका छन् ।
घाइतेहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन डीआईजी अधिकारी आफैं नोबेल अस्पताल जाँदैछन् । ‘२ जनालाई गोली लागेजस्तो देखिने चोट छ । १ जनालाई चैं गोली लागेजस्तो देखिँदैन । तर, सबै घाइते बोल्न सक्ने अवस्थामा छन्भन्ने जानकारी छ,’ उनले भने ।
पाथीभरा माता केबलकार कम्पनीले पाथीभरा क्षेत्रमा केबलकार निर्माण प्रक्रिया अघि बढाएको छ । त्यसको विरोध गर्दै पहिचान पक्षधरले मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समितिलगायतका समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । कम्पनीले मंगलबारदेखि केबलकार निर्माणस्थलमा जमिन सम्याउन थालेको थियो ।त्यसपछि आन्दोलनकारीहरु पाथीभरा केन्द्रित भएर विरोध गरिरहेका छन् । आन्दोलनकारीले केबलकार निर्माणको काममा अवरोधको प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको प्रहरीको भनाइ छ । आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचना प्रहरीले पाएको थियो । हतियारको खोजीका लागि गएको सुरक्षाकर्मीको टोलीलाई माथिबाट ढुंगा र गुलेलीले हानिएको प्रहरीको भनाइ छ ।
आन्दोलनकारीबाट खुकुरी, गुलेलीलगायत बरामद भएको डीआईजी अधिकारीले बताए । उनका अनुसार सुरक्षाकर्मी लक्षित आक्रमण हुन थालेपछि सुरुमा अश्रुग्यास हानिएको थियो । आन्दोलनकारी झन् आक्रामक बनेपछि गोली चलाउनु परेको दाबी प्रहरीको छ ।
पाथीभरा मन्दिर क्षेत्रको फुङलिङ नगरपालिका–१० काफ्लेपाटीदेखि मन्दिरनजिकसम्म २।७ किलोमिटर केबलकार बनाउन काम सुरु भएको छ । पाथीभरा मुक्कुमलुङ केबलकार प्रा।लिले फुङलिङ नगरपालिकाबाट निर्माण अनुमति लिएर काम सुरु गरेको छ । केबलकारको लागत अनुमान करिब ३ अर्ब रूपैयाँ छ ।-litenepal


















