सुरक्षाकर्मी र आन्दोलनकारी बीच झडप,१२ राउण्ड अश्रु ग्याँस प्रहार
ताप्लेजुङ। पाथीभरा क्षेत्रमा केवलकार निर्माणको बिरोध गरिरहेको समूह र सुरक्षाकर्मीबिच भएको घम्साघम्सीका क्रममा १२ राउण्ड अश्रु गाँस प्रहार भएको छ ।
केवलकार निर्माणको बिरोध गरिरहेको समूहका एक सदस्य डम्बर लाबुङले सुरक्षाकर्मीले २१ राउण्ड अश्रु गाँस प्रहार गरेको दावी गर्नु भएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार सो क्रममा तीनजना सशस्त्र प्रहरी सहित ४ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार सशस्त्र प्रहरीका सहायक निरीक्षक सोमदेव यादव,सशस्त्र प्रहरी सहायक हवल्दार टीकाराम खवास र सशस्त्र प्रहरी जवान सञ्जिव बस्नेत तथा नेपाल प्रहरीका अनुज विक सामान्य घाइते हुनु भएको छ ।
केवलकार निर्माणको बिरोध गरिरहेको समूहतर्फ केन्द्रसिंह फुरुम्बो,जीतबहादुर केदेम,दीपेश मादेन,शसिहाङ पोमू,लकहादुर लिम्बू,राजन लिम्बू सहितका मानिस घाइते भएको पहिचानवादी नेताहरुको दाबी छ । मुक्कुमलुङ संघर्ष समितिका संयोजक श्री लिङखिमले केवलकार खारेजीको पक्षमा आन्दोलनरत बिशाल श्रेङचोङवाङ समेत घाइते भएको जानकारी दिएका छन ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार पाथीभरा क्षेत्रको बलुडाँडा आसपासमा घरेलु हतियार सहितको समूह बसेको थाह पाएपछि गस्तिमा गएको सुरक्षाकर्मीको टोलीले घरेलु हतियार नियन्त्रणमा लिने प्रयास गर्दा सुरक्षाकर्मी र केवलकार निर्माणको बिरोध गरिरहेको समूहबिच घम्साघम्सी भएको थियो ।
सुरक्षाकर्मीले आन्दोलनरत पक्षबाट तीनथान खुकुरी र ग्याटिस सहितका सामाग्री नियन्त्रण लिएको जनाएको छ । सो क्रममा स्थिति तनावपूर्ण बनेपछि सुरक्षाकर्मीले अश्रु ग्याँस प्रहार गरेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।‘युद्धको मानसिकता सहित घरेलु हतियार र लाठीमुङ्गीसहित भेला भएका समूहबाट घरेलु हतियार नियन्त्रण गर्ने क्रममा उक्त अवस्था आएको हो’प्रजिअ शर्माले भन्नुभयो । उहाँका अनुसार अहिले त्यहाँको अवस्था सामान्य रहेको छ । । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल अध्यक्ष रहेको पाथीभरा(मुक्कुमलुङ)दर्शन केवलकार प्रालिले पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न लागेको हो । केवलकारको स्थानीय पूर्वाधार निर्माणका लागि जिम्मेवारी पाएको हिमालयन् कन्ट्रक्सन प्रालिले केवलकारको बेस स्टेशन निर्माणका लागि जमिन सम्याउने कार्य थालनी गरेपछि केवलकार खारेजीको पक्षमा रहेकाहरु अहिले पाथीभरा क्षेत्र केन्द्रित भएका छन् ।


















