वरिष्ठ अधिवक्ता त्रिपाठीको अभिव्यक्तिमा न्यायाधीश समाजको आपति

वेलकम खबर
माघ १०, २०८१

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको अभिव्यक्तिप्रति न्यायाधीश समाज, नेपालले खेद प्रकट गरेको छ । बहस गरेबमोजिमको परिणाम नआएको भन्ने आधारमा कानुन व्यवसायीको आचरणविपरीत उनले अभिव्यक्ति दिएको न्यायाधीश समाजको टिप्पणी छ ।

समाजले बिहीबार प्रेस विज्ञप्ति प्रकाशन गरी न्यायाधीशउपर उनले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको हो । समाजका महासचिव टेकनारायण कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिकाप्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज, नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरूप्रति खेद व्यक्त गर्दछ ।’

सहकारी ठगीको मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईले धरौटीमा छाड्ने आदेश दिएकोमा वरिष्ठ अधिवक्ता त्रिपाठीले न्यायाधीश राईको आलोचना गर्दै सञ्चारमाध्यममा अभिव्यक्ति दिएका थिए । सोही विषयलाई लिएर न्यायाधीश समाजले विज्ञप्ति निकालेको हो ।

पछि काठमाडौं जिल्ला अदालतबाहिर त्रिपाठीमाथि एक समूहले हातपात गरेको थियो । न्यायाधीश समाजले बहस गरेकै आधारमा त्रिपाठीमाथि भौतिक आक्रमण गर्नेलाई पनि कानुनी कारबाहीको माग गरेको छ । त्रिपाठीमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*