च्याट जिपिटी, एआई कुनै चित्रगुप्त होइन: प्रधानमन्त्री ओली (भिडियो सहित )
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्राविधिक शिक्षामा बढी जोड दिइरहेको बताएका छन्।बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आइटी र प्रविधिको क्षेत्रमा सरकारले जोड दिएर काम गरिरहेको उल्लेख गरे।
उनले च्याट जिपिटी, एआई अब नेपालका लागि नयाँ कुरा नभएको भन्दै यसको प्रयोगबाट नेपाल अघि बढ्नुपर्ने बताए। उनले प्रविधिबाट सतर्क हुनुपर्ने अवस्था रहेको पनि बताए। उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको जनाए। प्रधानमन्त्री ओलीले विश्वको यस भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराए । ‘हामी उठ्न नसक्ने कुनै कारण छैन । हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौँ ।’ प्रधानमन्त्री ओलीले भने, ‘चीनले त्यत्रो जनसंख्यालाई छोटो समयमा गरिबीको रेखामुनिबाट उठायो । हामीले पनि हाम्रो देश आफै बनाउन लाग्नुपर्छ । लागेपछि नेपाल बन्छ ।’
प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीलाई दृष्टान्तयोग्य, इमानदार, आदर्शवान् र समाजका लागि उपयोगी हुन सक्नुहोस् भन्ने शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विद्यार्थी र अभिभावकको आर्थिक लगानी, स्नेह र समयको लगानीको प्रतिफल प्राप्त भएको बताए । विसं २०८० र २०८० मा प्रतिष्ठानबाट एमडी र एमएसमा उत्तीर्ण ३८ विद्यार्थीलाई दीक्षित भएका छन्। कुलपति ओलीले उत्कृष्ट विद्यार्थी अरविनदकुमार शाह (अर्थोपेडिक्स) र आषिश सापकोटा (जनरल सर्जरी) लाई उपकुलपति पदक वितरण गरे ।
विश्वविद्यालयका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल उपस्थित समारोहमा कारोलिनस्का इन्स्टिच्युट स्टकहोम, स्वीडेनका प्रा माग्नुस वेस्ग्रेनले दीक्षान्त भाषण गरेका थिए । प्रतिष्ठानका उपकुलपति प्राडा डुकबहादुर क्षेत्रीले सेवा विस्तारका क्रममा अस्पताललाई ५० शैंयाको आकस्मिक विभाग सञ्चालनको तयारी भएको जानकारी दिए ।


















