भूकम्पको केन्द्रविन्दु नजिक लोबुचेको के छ अवस्था?
काठमाडौं : चीनको दिङ्गे केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्यूडको भूकम्प गयो। यसको महशुस काठमाडौं उपत्यकालगायत नेपालका धेरै स्थानमा भयो।
भूकम्पको केन्द्रविन्दुबाट नजिकै पर्ने सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिकाको लोबुचेमा क्षति भएको अनुमान गरिएको छ। प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पले पुर्याएको क्षतिको विवरण आएको छैन। ‘अहिलेसम्म क्षतिको कुनै जानकारी प्राप्त भएको छैन’, उनले भने, भौगोलिक विकटता र यातायात नपुगेको स्थान भएकाले जानकारी प्राप्त गर्न सकेका छैनौँ।’
सगरमाथा आधारक्षेत्र जाने बाटोमा पर्ने यो स्थानमा उद्धारका लागि सुरक्षाकर्मी गइसकेको प्रजिअ घिमिरेले बताए। खुम्बु पासाङल्हामु गाउँपालिका- ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले भौतिक तथा मानवीय क्षति नभएको जानकारी दिए। शक्तिशाली भूकम्पपछि परकम्प पनि गइरहेकाले स्थानीयवासी त्रासमा रहेको उनले बताए। ‘क्षतिबारे अहिलेसम्म कुनै जानकारी छैन तर पटकपटक गइरहेको परकम्पले स्थानीयमा त्रास बढेको छ’, उनले भने।
भूकम्पको केन्द्रविन्दु दिङ्गे र नेपालतर्फ लीबुचेको दूरी ९० किलोमिटर रहेको बताइएको छ।


















