६ वर्षदेखि सिमानामा थन्किएको ह्युमपाइप बल्ल ओसारियो

आनन्द गौतम
पुस ९, २०८१

ताप्लेजुङ। नेपाल–चीन सिमाना टिप्ताला भञ्ज्याङदेखि फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाको बस्तीसम्म सडकको ट्रयाक खोलिएपछि सिजेम खोलामा दुई वटा ह्युमपाइप राखियो । २०७३ मा एउटा हृयुम पाइप राख्दा दुई लाखका दरले खर्च भयो ।

ठाडा खोला र ह्युमपाइपको आवश्यकता देखेर चीनले साना र ठूला गरी २१ वटा ह्युमपाइप निशुल्क दियो । चीनबाट ट्रकमा राखेर ल्याइएका पाइप नेपाली भूभागमा ल्याएर झारिदियो । सन् १९१९ अगस्टमा ल्याएका ती पाइप बल्ल उपयोगमा आउने भएका छन् ।

मानिसले बोक्न नसक्ने उठाउन र ट्याक्टरमा राख्न मेसिन नै लाग्ने भएकाले ह्युमपाइप लामो समय नाकामै थन्किएका हुन् । फक्ताङलुङ–७ ओलाङचुङगोला कार्यक्षेत्र रहेको १ सय ६६ मेगावाटको सुपर तमोर जलविद्युत् आयोजनाले अहिले सडक स्तरोन्नति र खोलासम्म ह्युमपाइप ओसार्ने काम गरिदिएको छ ।

सुपर तमोर आयोजनाका प्रमुख जितेन्द्र श्रेष्ठ आफ्नो कार्यक्षेत्र पनि भएको र वडा कार्यालयको पनि अनुरोध भएपछि सडक स्तरोन्नति र ह्युमपाइप ओसार्ने काम गरेको बताए । सुकेपानीबाट सडक स्तरोन्नति गर्दै गएको एक्स्काभेटरले ह्युमपाइप ट्याक्टरमा राखेर ओसारिएको हो । त्यसले ओलाङचुङगोलाको बस्ती हुँदै खोलासम्म झारेको वडाध्यक्ष छेतेन शेर्पा लामा बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*