तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन निर्माणमा पहिलो पटक निजी क्षेत्रको प्रवेश
काठमाडौं । सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा पहिलो पटक प्रसारण लाइन निर्माण हुने भएको छ । तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन निर्माणका लागि आज (मंगलबार) सम्झौता भएको छ। ऊर्जा मन्त्रालयमा भएको यो सम्झौतामा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) सहित निजी क्षेत्रका पाँच प्रवर्धक कम्पनीहरू सहभागी हुने भएका छन् ।
३२ किलोमिटर लामो प्रसारणलाइनमा सार्वजनिक निजी साझेदारीमार्फत निजी क्षेत्रको प्रवेश भएको हो ।बुट मोडलमा निर्माण गरिने यो परियोजनामा रेमिट हाइड्रो, सिम्बुवा रेमिट हाइड्रो, क्रिस्टल पावर डेभलपमेन्ट प्राइभेट लिमिटेड, युनियन हाइड्रोपावर र नेपाल हाइड्रो भेन्चर प्राइभेट लिमिटेडले स्वपुँजी लगानी गर्ने भएका छन् ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका अनुसार निर्माणपूर्वका सबै कार्य पूरा भइसकेका छन् र परियोजनाका लागि करिब ७० रोपनी जग्गा पहिले नै अधिग्रहण गरिएको छ । ३२ किलोमिटर लामो प्रसारण लाइन र २२०-१३२ केभी सब–स्टेसन निर्माणका लागि करिब ३.८ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रसारण लाइनमा एचआईडीसीएलले ऋण लगानी गर्नेछ । परियोजनाको ७४ प्रतिशत शेयर विद्युत उत्पादक कम्पनीहरूले र २६ प्रतिशत शेयर राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले लिने प्रस्तावमा छ । प्रमुख आय स्रोत सम्बन्धित उत्पादक कम्पनीले बुक गरेको व्हीलिङ चार्ज हुनेछ । त्यसैबाट ऋण भुक्तानी, सञ्चालन खर्च कटौती, र नाफा-नोक्सान शेयर होल्डरहरूले व्यहोर्ने छन् ।
यस परियोजनामा जोडिने पहिलो पाँच कम्पनीहरू रेमिट हाइड्रो ७७.५ मेगावाटको घुन्सा खोला, सिम्बुवा रेमिट हाइड्रोः ७०.३ मेगावाटको सिम्बुवा खोला, क्रिस्टल पावर डेभलपमेन्ट प्रा.लि. १६६ मेगावाटको सुपर तमोर, युनियन हाइड्रोपावरः ६० मेगावाटको अपर तमोर ए, नेपाल हाइड्रो भेन्चर प्रा.लि. ४३ मेगावाटको तमोर खोला निर्माण गरिरहेका छन् । यस परियोजनाले जलविद्युत उत्पादनमा सहयोग पुर्याउनुका साथै विद्युत प्रसारणलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।


















