रवि लामिछाने जोडिएको सहकारी ठगीमा संगठित अपराध सम्बन्धी अनुसन्धान किन ?

वेलकम खबर
कार्तिक ५, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ गरेसँगै प्रहरीले संगठित अपराधसहित सहकारी ठगीमा पनि अनुसन्धानका लागि म्याद थप गरेको छ ।कास्की जिल्ला अदालतका श्रेष्तेदार राजन खनालका अनुसार  प्रहरीले दुवै अभियोगमा अनुसन्धानका लागि म्याद माग गरेको र जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले पहिलो पटक ६ दिनका लागि म्याद दिएको छ । यो म्याद शुक्रवारदेखि गणना हुने उनले बताए ।

म्याद थप भएसँगै अब प्रहरीले अनुसन्धानका लागि लामिछानेको बयान लिने छ । बयानका क्रममा प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध भएको हो कि हैन भन्नेबारे अनुसन्धान थाल्ने छ ।  जुन अभियोगमा  म्याद थप भएको छ, सोही अभियोगमा अनुसन्धान गर्नुपर्ने भएकाले यी दुई अभियोगमा प्रहरीले अनुसन्धान गर्ने छ ।अभियोगपत्र दर्ता गर्दा सरकारी वकिलको कार्यालयले थप अभियोग पनि आकर्षित हुनसक्ने देखेमा दाबी गर्न सक्ने छ ।लामिछानेले भने आफूलाई झुटो मुद्दामा सरकारले फसाउन खोजेको आरोप लगाएका छन् । आइतबार अदालतमा पेस हुनु अघि कास्की जिल्ला अदालत परिसरमा उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखे । सरकारले झुटो मुद्दामा आफूलाई फसाउन खोजेको उनको जिकिर थियो ।

‘अधिनायकवादी सरकारको विरुद्ध यही बेलामा देशैभरिबाट जो–जो जहाँ–जहाँ हुनुहुन्छ, मेरा लागि होइन, देशका लागि बाहिर निस्कनुपर्ने बेला आउन सक्छ’, लामिछानेले भने, ‘म सबैलाई अपिल गर्न चाहन्छु– सम्पूर्ण न्यायप्रेमी दाजुभाइ दिदीबहिनीहरू ! यो सरकार रहुन्जेलसम्म उसले यस्तै हर्कत गरिरहन्छ । झुटा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ  ।’

यसअघि संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा सहकारीको रकम गोर्खा मिडियामा ल्याउन लामिछानेको भूमिका नदेखिए पनि त्यसरी ल्याइएको रकम आफ्नो तजविजीमा खर्च गरेको ठहर गरेको थियो । तर उक्त प्रतिवेदनलाई लामिछानेले भने आफूले ‘क्लिनचिट’ पाएको दाबी गर्दै आएका थिए ।

प्रहरीले पोखराको सूर्यदर्शन सहकारी ठगीमा गोर्खा मिडियाका सञ्चालकमध्येका एक पूर्वडीआइजी छविराज जोशीलाई पक्राउ गरेपछि भने लामिछानेले आफू पनि पक्राउ पर्न सक्ने आशंका गरेका थिए । असोज १० गते जोशी पक्राउ परेपछि लामिछानेले तत्काल आफ्ना कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएर सार्वजनिक रूपमा  प्रतिरोध गर्न आह्वानसमेत गरेका थिए ।

संगठित अपराधमा प्रहरीलाई अनुसन्धान गर्न करिब दुई महिना समय हुनेछ । प्रहरीले ६० दिनभित्र अनुसन्धान सकेर जिल्ला अदालतमा लामिछानेविरुद्ध अभियोगपत्र पेस गर्नुपर्ने छ ।-ratopati

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*