एक साताभित्र बीपी राजमार्गमा सवारी सञ्चालनको व्यवस्था गर्छौं : गृहमन्त्री

वेलकम खबर
अशोज २२, २०८१

काठमाण्डौं। गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्जनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन्  ।

बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा आज बिहान सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अतिभारी बर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बीपीरानमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताए ।

“ बीपी राजमार्गमा धेरै क्षति भएको छ, एक हप्ताभित्र डाइभर्सजनसहित सवारी चलाउने व्यवस्था हुन्छ ।” उन ले भने–“ यहाँका अवरुद्ध भित्रि सडक सञ्चालनदेखि पुल निर्माणसम्म सेनाको धेरै ठुलो भूमिका देखिएको छ ।”

विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

“ यो समस्यामा कहाँ जाउँला? के गरुँला? यो नसोच्नुहोला ।” उनले भने–“ सकरार छ, सरकार भनेको सबैको अभिभावक पनि हो ।”विपद्को समस्या सबै मिलेर समाधानमा जुट्नुपर्नेमा जोड उनको थियो ।“ यसमा कुनै राजनीति छैन, कुनै पक्ष विपक्ष छैन् ।” उनले भने–“ तीन वटै सरकार, सबै राजनीतिक दल, गैरसरकारी संस्था सबै मिलेर हामीले यो विपद्पछिको समस्या समाधान गर्नु छ ।”

मन्त्री लेखकले पालिकाहरुलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह समेत गरे ।“ लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि  १५ देखि २० हजार र अस्थायी आवास निर्माणमा पहिलो किस्ता स्वरुप २५ हजार दिन्छौं ।” उनले भने–“ त्यसका लागि प्रभावित जिल्लाका पालिकाहरु चाँडो लाभग्राही विवरण पठाइदिनुप¥यो ।”

सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको केही क्षेत्रमा गृहमन्त्री लेखकसंगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राइ र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोली बाढी/पहिरो प्रभावित क्षेत्रको अनुगमन गरिरहेको छ । यसअघि गृहमन्त्री लेखकले काभ्रेपलाञ्चोक र ललितपुरको गोदावरी क्षेत्रको प्रभावित स्थल अनुगमन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*