ताप्लेजुङमा प्लेन नियमित गर्नुपर्छ भन्दै जनप्रतिनिधिले गराए मन्त्रीको ध्यानाकषर्ण (भिडियो सहित )
काठमाडौ । ताप्लेजुङका जनप्रतिनिधि र काठमाडौ सरोकार केन्द्रल आज संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटी सुकेटार विमानस्थलमा नियमित उडानसहित अन्य उडान थप्न आग्रह गरेका छन् ।
ताप्लेजुङ सरोकार केन्द्रको पहलमा मन्त्रालयमा नै पुगेर मन्त्री पाण्डे समक्ष ताप्लेजुङ सुकेटार विमान स्थलमा हवाई सेवा सुचारु गर्न तथा हप्ता एक दिन मात्रै सञ्चालन गर्ने भनिएको हवाई से वा थप गर्न मन्त्री पाण्डेसँग आग्रह गरेको हो ।
‘बाढी पहिरोका कारण पूर्व–पश्चिम राजमार्ग, वीपी राजमार्गसहित मेची राजमार्ग पनि अबरुद्ध भएकाले ताप्लेजुङका नागरिकको अबको विकल्प प्लेन मात्रै भएको भन्दै नेपाल बायु सेवा निगम नियमित गर्न तथा नीजी क्षेत्रका जहाजहरुलाई पनि सुकेटार विमानस्थल उडान भर्नका लागि ब्यवस्था मिलाउन मन्त्री समक्ष आग्रह गरेको हो ।
केही दिन अघि असोज १०, ११ र १२ गते देशभर आएको अविरल बर्षा र बाढी पहिरोले ताप्लेजुङलाई जोड्ने सडकहरू क्षतविक्षत भएका छन् । ठाउँ ठाउँमा पहिरो गई बाटो अवरुद्ध भएका छन् । अझ ताप्लेजुङलाई जोड्ने मेची राजमार्गमा पर्ने हेवा खोलाको बेलीब्रिज समेत बगाएकाले दशैं, तिहार, छड पर्वलगायत विभिन्न चाडपर्वमा घर जान चाहने यात्रुहरूका लागि समस्या सिर्जना भएको छ । यस ऋतुमा मौसम सफा हुने र यात्रुको चाप पनि बढी हुने भएकाले ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा नियमित उडानको व्यवस्थाका लागि हार्दिक अनुरोध छ,’ मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापन पत्र बुझाउदै प्रतिनिधिसभा सदस्य लीला बोखिमले यो समस्या जिल्लाका नागरिकले लामो समयदेखि भोगेकाले सदाका लागि समस्याको हल गर्न मन्त्रीलाई आग्रह गरिन् । ‘हप्तामा एउटा उडान राखिएको छ । तर, त्यो पनि जाँदैन । यतिले मात्रै भएन मन्त्री ज्यू,’ उनले भनिन्, ‘जिल्लाका नागरिक बिरामी भए उपचार गर्न जिल्ला बाहिर जाने अहिले कुनै माध्यम नै छैन । उडान नियमित हुनुपर्यो । विपत्मा त ताप्लेजुङका नागरिकले सरकार भएको महसुस गरुन् ।’
ज्ञापनपत्र बुझेपछि मन्त्री पाण्डेले ताप्लेजुङको समस्याबारे आफू जानकार रहेकाले यस विषयलाई गम्भिरताका साथ लिने बताए । ‘भन्दा अप्ठ्यारो लाग्छ, तर नेपाल वायु सेवा निगमको पहाडी क्षेत्रमा उडान गर्ने सानु जहाज एउटा मात्रै छ । पश्चिममा गए पूर्वमा उडान रोकिन्छ, पूर्व गए पश्चिममा । अहिले काठमाडौं आएको छ । विहीबारबाट केही दिन पूर्व तर्फ उड्छ,’ उनले भने, ‘मैले अन्य निजी कम्पनीसँग पनि कुरा गरिरहेको छु । समस्या समाधानमा मेरो प्रयास रहनेछ । म यो विषयमा सकरात्मक छु ।’
मन्त्री पाण्डेले आफू पहिले पनि ताप्लेजुङ पुगेको र यहाँको अवस्थाबारे जानकार रहेकाले यहाँ बाट झापा, विराटनगर र काठमाडौं पनि उडान गर्ने सम्भावना सरकारले बुझेको बताए । ‘यो पर्यटकीय जिल्ला हो । यहाँबाट झापाको भ्रद्रपुर, विराटनगर र काठमाडौं नियमित उडान भर्न पनि सकिन्छ । तर, अहिले जहाज नभएकाले देशभर व्यवस्थापन गर्नै समस्या छ,’ उनले आफ्नै समस्या सुनाए ।
मन्त्रीसँगको भेटपछि बोल्दै संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फेले मन्त्री ताप्लेजुङको समस्याका विषयमा जानकार रहेको र आफूहरूले पनि यो समस्याको चाँडै सामाधान गर्न आग्रह गरेको बताए । ‘मन्त्रीलाई हामिले समस्या सुनाएका छौं ।उहाँ सकरात्मक देखिनुभएको छ । पहल गर्नु भन्नुभएको छ,’ उनले भने ।
प्रतिनिधिसभा सदस्य उर्मिला थेवेले सुकेटार विमानस्थलमा नियमित विमान सेवा सञ्चालन गर्न आफूले पटक पटक मन्त्रीलाई भेटेर यो विमानस्थललाई ‘सो’ सजाउन को रूपमा मात्रै राख्न नहुने बताएको प्रतिक्रिया दिइन् । ‘मैले जिल्लाको विकासका कुरा लिएर धेरै पटक धेरै मन्त्रालय धाएँ, अझै सुकेटार विमानस्थलको विषयमा त मन्त्रीलाई यो ‘सो’ मात्रै हो भनेर पनि भनेको छु । आज पनि उक्त विषयमा ध्यानाकर्षण गराएका छौं,’ सांसद थेवेले भनिन् ।
ताप्लेजुङमा निगमले हाललाई हप्तामा एक दिनमात्र उडान तालिका राखेको छ । यो तालिका भदौ ३० गतेसम्म बुधबारका लागि राखिएको थियो भने अहिले बिहीबारका लागि राख्ने गरिएको छ । तर, तालिकामा विमान राखे पनि उडान भने हुनेगरेको छैन । कहिले मौसम त कहिले जहाज अभाव देखाउँदै सुकेटारमा उडान अनियमित भइरहेको छ ।



















