रास्वपा कार्यकर्तालाई मुकुलले भने- सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस्

वेलकम खबर
अशोज ७, २०८१

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा.मुकुल ढकालले कुनै व्यक्तिविशेषको ‘ठगी’ जोगाउन पार्टी प्रयोग हुन नहुनेमा जोड दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले ‘सहकारी ठग’लाई समातेर प्रहरीमा बुझाउन रास्वपा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

“…हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस्, ताकि कानुनभन्दा माथि कोही हुनु हुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस्,” उनले फेसबुकमा लेखेका छन् । विधिको शासन स्थापनाका निम्ति आफूहरूले पार्टी बनाएको उनले उल्लेख गरेका छन् । उनले रास्वपा कार्यकर्ताको ऊर्जा सहकारी ठगको बचाउका निम्ति खर्च हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

“हामीले बनाएको पार्टी भ्रष्ट, ठग, दलाल र अपराधीको संरक्षणको लागि होइन, बल्की तिनीहरूको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो,” उनले लेखेका छन्, “तपाईंहरूको ऊर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो ।”

उनको फेसबुक पोस्ट रास्वपा सभापति रवि लामिछानेलक्षित हो । उनले लामिछानेको नाम भने उल्लेख गरेका छैनन् । “विधिको शासन स्थापना गर्ने बेला हो । ठग जोसुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो,” उनले लेखेका छन्, “कुनै व्यक्तिविशेषको ठगी जोगाउनका लागि पार्टी प्रयोग हुनु हुँदैन, गर्नु हुँदैन ।”

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु