सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धतामा यस्तो छ (पूर्णपाठ)

वेलकम खबर
अशोज २, २०८१

काठमाडौँ । सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख गर्दै आत्मविश्वास, भरोसा र उत्साह बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कांग्रेस–एमाले कार्यदलले तयार गरेको सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता बुधबार सार्वजनिक गर्दै दिगो र फराकिलो आर्थिक वृद्धि सुनिश्चित गर्न वित्त र मौद्रिक नीतिलाई एकअर्काको परिपूरक हुने गरी सञ्चालन गरिने जनाइएको छ ।

‘आर्थिक क्रियाकलापलाई तीव्रता दिन पुँजीगत खर्च गर्ने क्षमता वृद्धि गरिनेछ,’ सत्तारुढ दलको प्रतिबद्धतामा भनिएको छ, ‘निजी क्षेत्रलाई आर्थिक वृद्धिका उत्तोलक (ग्रोथ इन्जिन) का रूपमा आत्मसात् गर्दै त्यसको आत्मविश्वास, भरोसा र उत्साहलाई बढाउने तथा सरकार, अभिभावक र प्रभावकारी सहजकर्ता हो भन्ने विश्वास दिलाउने गरी काम गरिनेछ ।’

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित भइसकेको पृष्ठभूमि र त्यसले सिर्जना गरेको सीमालाई समेत ध्यानमा राख्दै सुधारका हरसम्भव उपाय अवलम्बन गरिने जनाएको छ । ‘पुँजी बजारप्रतिको आमनागरिकको बढ्दो आकर्षणलाई ध्यानमा राखी नियामक निकायको संस्थागत प्रभावकारिता र पारदर्शितालाई सुदृढ गरी लगानीकर्ताको लगानी सुरक्षित गरिनेछ,’ साझा संकल्पमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*