जबजको मार्गदर्शनमा समाजवाद हासिल गर्न चाहन्छौं : सचिव भट्टराई

वेलकम खबर
भदौ २७, २०८१

काठमाडौँ  ।  नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा नेपाल शान्तिपूर्ण बाटो्मार्फत समाजवादतर्फ अघि बढिरहेको बताएका छन् । आफूहरुले शान्तिपूर्ण प्रक्रियामार्फत नेपाली जनताको बलियो समर्थनसहित समाजवाद हासिल गर्न चाहेको उनको भनाइ थियो ।

चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको आयोजनामा बेइजिङमा आयोजित १४ औं विश्व समाजवाद फोरमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टराईले जबज नेपाली भूमिमा मार्क्सवादको सिर्जनात्मक प्रयोग रहेको र त्यसैको आलोकमा समाजवाद हासिल गर्न चाहेको बताए । ‘नेपालमा हामी समाजवादी उन्मुख संविधान स्वीकार गर्दै सामाजिक–आर्थिक असमानतालाई सम्बोधन गर्न अघि बढिरहेका छौं, जसमा प्रमुख राजनीतिक दलहरूको सामूहिक विवेक समावेश छ । हाम्रो पार्टी नेकपा (एमाले) ले स्वर्गीय कमरेड मदन भण्डारीको नेतृत्वमा ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त विकास गरेको छ,’ उनले भनेका छन्, ‘हामी जबजको मार्गदर्शनमा हामी नेपाली तरिकामा शान्तिपूर्ण माध्यमबाट समाजवादतर्फ अघि बढिरहेका छौं । जबज नेपाली अभ्यास र नेपाली भूमिमा मार्क्सवादको रचनात्मक प्रयोगमा आधारित छ । हामी शान्तिपूर्ण प्रक्रियामा जनताको बलियो समर्थनसहित समाजवाद हासिल गर्न चाहन्छौं । यो नयाँ युगको नेपाली मोडेल र विशेषताहरूको क्रान्ति हो ।’

बेइजिङमा जारी १४ औं विश्व समाजवाद फोरममा विश्वका ३० देशका कम्युनिष्ट नेता, मार्क्सवादी बुद्धिजीवि, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता गरी ५० विदेशी अथिथि र चिनियाँ नेता, प्राध्यापक, बुद्धिजीविसहित १ सय ५० बढी सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*