पर्यटन बोर्डको सिईओ नियुक्तिमा धाँधली भएको भन्दै न्याय खोज्दै धनन्जय रेग्मी सर्वोच्चमा

वेलकम खबर
भदौ २६, २०८१

काठमाडौँ ।नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत छनौटमा धाँधली गरेर पहिलो नम्बरकालाई छाडेर दोस्रो नम्बरका दिपक जोशीलाई नियुक्ती दिइएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
अन्तिम तीन जनाको योग्यता मुल्यांकन सुचीमा पहिलो नम्बरमा डा. धनन्जय रेग्मी थिए भनेदोस्रो नम्बरमा दिपकराज जोशी थिए । तर दोस्रो नम्बरका दिपक जोशीलाई पर्यटन बोर्डमा नियुक्ति दिएर आफू माथि अन्याय भएको भन्दै पहिलो नम्बरमा रहेका डा. धनन्जय रेग्मीले न्यायका लागि सर्वोच्च अदालतमा मुद्या दायर गरेका हुन् । रेग्मीको रिटमाथि सुनुवाइका लागि बुधवार पेशी तोकिएको छ ।

पर्यटनमन्त्री बद्री पाण्डेको निर्देशनमा सीईओ छनौट समितिले प्राप्त नम्बरका आधारमा नभई वर्णानुक्रमअनुसार सिफारिस गरेर दोस्रो नम्बरका जोशीलाई नियुक्त गरेको रेग्मीको भनाई छ । पर्यटन क्षेत्रका कतिपय जानकारहरुले पैसाको ठूलो चलखेल गरि नियुक्तिमा तलमाथी गरेको हुन सकने आशंका गरेका छन् ।
निवर्तमान सीईओ रहेका रेग्मीले विज्ञहरूको नम्बरका आधारमा आफू पहिलो भए पनि मन्त्री पाण्डेले अनूचित प्रभावमा परेर जोशीलाई सीईओ नियुक्त गर्न छनौट उपसमितिलाई निर्देशन दिएको आरोप लगाएका छन् । पर्यटन मन्त्रालयकी उपसचिव इन्दू घिमिरेको संयोजकत्वमा रहेको उपसमितिमा बोर्डका सदस्य मदन आचार्य र मिलन देवकोटा सदस्य थिए ।

रिट निवेदमा रेग्मीले आवदेकले परीक्षामा पाएको प्राप्तांक नै नहेरी गरिएको नियुक्ति र नियुक्ति पत्रले वैधानिक प्राप्त गर्न नसक्ने जिकिर गरेका छन् । उनले कार्यकारी पदमा नियुक्ति गर्दा यसअघि सर्वोत्कृष्ट अंक ल्याउनेलाई नियुक्ति दिइएको दृष्टान्तको समेत यसपटक अवज्ञा भएको दाबी गरेका छन् ।उनले प्रत्येकले पाएको अंक सार्वजनिक गरी नतिजा प्रकाशन, सिफारिस र नियुक्त गर्नुपर्नेमा सो नगरी अपारदर्शी ढंगले जोशीलाई गरिएको नियुक्ति बदर गर्न उत्प्रेषणको आदेश माग गरेका छन् ।

रेग्मीले बोर्डका एकजना सदस्यले यो निर्णय प्रक्रिया अवैधानिक रहेको भन्दै असहमति जनाएको समेत स्मरण गराएका छन् । सीईओ छनौट सिफारिस उपसमितिका सदस्य मदन आचार्यले नोट अफ डिसेन्ट लेखेका छन् । उनले मेरिटलाई लत्याइएकोलगायतका विषय उठाएर असहमति जनाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*