सामाजिक सञ्जालबाटै मुख्यसचिवलाई प्रधानमन्त्रीको निर्देशन

वेलकम खबर
भदौ १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त बनाउन निर्देशन दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकबाट अर्याललाई बधाई दिंदै प्रधानमन्त्रीले नागरिकलाई चुस्त सेवा दिन र विकास आयोजनालाई अगाडि बढाउन पनि निर्देशन दिएका छन् ।

‘सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ’, उनले भनेका छन्, ‘सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो ।’

प्रधानमन्त्रीले अधिकारीलाई आफ्नो कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाइ गर्न मिल्ने गरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुने सुझाव पनि दिएका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘सवारी चालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नुपर्छ ? विकास निर्माणका आयोजनाहरु किन ढिलाइ भइरहेका छन् ? यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न यसले सहयोग पुग्छ ।’

सबै क्षेत्रका गरी करिब चार लाख (निजामती , शिक्षक, सुरक्षा ) राष्ट्र सेवक कर्मचारी रहेको र कार्यसम्पादनमा उनीहरूको सफलताले नागरिकमा सन्तुष्टि आउने प्रधानमन्त्रीको भनाइ छ । ‘कामहरू अघि बढ्छन् र देश सफल हुन्छ । सबै कर्मचारी जागिरे मात्र होइनन्, नागरिकका सेवक हुन्’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*