नेप्सेमा भित्रियो बुल, दशैंअघिसम्म उद्घाटनको तयारी
काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को प्राँगणमा बुलको प्रतिमा भित्रिएको छ। नेप्सेको प्रांगणमा आज बुलको प्रतिमा भित्रिएको हो। बुल निर्माणको काम ललितपुरको पाटनमा भएको थियो ।
उक्त प्रतिमा नेपाली कालीगढको समूहले निर्माण गरेका हुन् । यो प्रतिमा उद्घाटन दशैंअघिसम्म सकिने जनाइएको छ । बुलको निर्माण ढलौटबाट भएको छ र यसको उचाई ६ फिट र लम्बाई ८ फिट रहेको छ । बुलको तौल भने ६ टनको छ ।
लगानीकर्ताले लामो समय देखि नेप्सेमा बुल राख्नु पर्ने माग राख्दै आएका थिए । विश्वका अन्य सेयर बजारमा पनि सेयर बजारको प्रतिकात्मक रुपमा बुलको प्रतिमाहरु राख्ने प्रचलन रहेकोमा नेपालमा पनि यसको सुरुवात गर्न लागिएको नेप्से प्रवक्ता मुराहरि पराजुलीले बताए । पछिल्लो समय केही ब्रोकर हाउसहरुले पनि आफ्नो ब्रोकर हाउसमा बुलको प्रतिमा राख्न थालेका छन् । बुललाई बजार बढ्दो बजारको संकेतको रुपमा लिइने गरिन्छ ।