रास्वपाका मिलन लिम्बु र स्वतन्त्रका डकेन्द्रसिंह थेगिमलाई स्पष्टिकरण सोधियो

वेलकम खबर
बैशाख ७, २०८१

इलाम।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन योङहाङ लिम्बू र पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई उपनिर्वाचन आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोधिएको छ ।

उपनिर्वाचन आचारसंहिता अनुगमन अधिकृत राजेन्द्र आचार्यले लिम्बू र थेगिमलाई २४ घन्टाभित्र जबाफ माग्दै लिखित स्पष्टीकरण सोधका हुन् ।

रास्वपा उम्मेदवार मिलनविरुद्ध निर्वाचन प्रचारप्रसार तथा मत माग्नेक्रममा मापदण्डविपरीत ठूला–ठूला ब्यानर, फोटो, स्टेन्ड बनाइ टाँस गरेको भन्ने उजुरी परेको अनुगमन अधिकृतले जनाएका छन् ।

‘आचारसंहिता अनुगमन अधिकृतबाट अनुगमन गर्नेक्रममा देखिएको फोटो वा प्रचार सामग्री तपाइँको होइन वा तपाइँले नै टाँस गरेको होइन भन्ने कुनै आधार र प्रमाण देखिएन,’ योङहाङलाई सोधिएको स्पष्टीकरणको पत्रमा उल्लेख छ, ‘तपाइँबाट निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचनसम्बन्धी कानुनविपरीत कार्य भएको हुँदा अविलम्ब उक्त सामग्री हटाउनु हुन, अन्यथा निर्वाचन आयोग ऐनबमोजिम किन कारबाही नगर्ने, कारबाही नगर्नुपर्ने कुनै प्रमाण र कारण भएमा स्पष्टीकरणपत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र चित्त बुझ्दो जबाफ पेस गर्नहुन जानकारी गराइन्छ ।’

अर्का उम्मेदवार डकेन्द्रले निर्वाचन प्रचारप्रसार तथा मत माग्नेक्रममा मापदण्ड विपरीत नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले नयाँ वर्ष–२०८१ को शुभकामना एवं निर्वाचनमा आफूलाई मत मागेको भिडियोलाई तोडमोड गरी साउन्ड डबिङ गरी डकेन्द्रकै नाममा मत मागेको स्पष्टीकरणपत्रमा उल्लेख छ ।

‘उजुरी परेको सम्बन्धमा आचारसंहिता अनुगमन अधिकृतबाट अनुगमन गर्नेक्रममा बुझ्दा उक्त कार्य तपाइँबाट भएको होइन वा तपाइँले नै गरेको होइन भन्ने कुनै आधार र प्रमाण देखिएन,’ पत्रमा उल्लेख छ, ‘तपाइँबाट निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचनसम्बन्धी कानुनविपरीत कार्य भएको देखिँदा अविलम्ब उक्त सामग्री सामाजिक सञ्जालबाट हटाउनु हुन, अन्यथा निर्वाचन आयोग ऐनबमोजिम किन कारबाही नगर्ने, कारबाही नगर्नु पर्ने कुनै प्रमाण र कारण भएमा स्पष्टीकरणपत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र चित्तबुझ्दो जबाफ पेस गर्नहुन जानकारी गराइन्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*