मैत्रीपूर्ण फुटबलमा चीनलाई नेपालले जित्यो

वेलकम खबर
माघ २७, २०८०

काठमाडौँ । समीर तामाङको दुई गोल प्रेरणामा नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित निकाल्यो।

चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा शनिबार नेपाली युवा टोलीले पाहुना टोलीमाथि सहज जित निकाल्यो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि छिरिङ लामा, सञ्जीव बिष्ट र नीराजन धामीले समान एक गोल थपे। चिनियाँ टोलीका जासी पेङकोउले सान्त्वना गोल फर्काए। सञ्जीव बिष्टले दोस्रो मिनेटमा नै गोल गर्दै नेपाली युवा टोलीलाई अग्रता दिलाए।

३९ औं मिनेटमा समिरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। त्यससँगै पहिलो हाफमा नेपाली युवा टोलीले २–० को अग्रता बनायो।

समीरले नै ५४ औं मिनेटमा गोल गर्दै नेपाली युवा टोलीको अग्रता ३–० मा पुर्‍याए। ६३ औं मिनेटमा छिरिङ लामाले अर्को गोल गरे। त्यससँगै नेपाली युवा टोलीले अग्रता ४–० मा पुर्‍याए।

७५ औं मिनेटमा नीराजनले गोल गर्दै घरेलु टोलीलाई ५–० को सहज अवस्थामा पुर्‍याए। पाहुना टोलीका पेङकोउले ७८ औं मिनेटमा गोल फर्काउँदै अग्रता छोट्याए। त्यसपछि थप गोल हुन सकेन र नेपाली युवा टोलीले सहज जित निकाल्यो।

चिनियाँ नयाँ वर्षको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा यो मैत्रीपूर्ण फुटबल भएको हो।

विजेता टोलीलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र राष्ट्रिय खेलकुद परिषद्का (राखेप) का सदस्यसचिव टंकालाल घिसिङले ट्रफी प्रदान गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*